July 19th, 2019

संस्थापक सेयर धनीको ‘लक इन पिरियड’ बढ्ने

बैंकिङ खबर । सूचीकृत कम्पनीका संस्थापकको ‘लक इन पिरियड’ बढ्ने भएको छ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षभित्रमा संस्थापक सेयर धनीहरूले लक इन पिरियड बढाउने तयारी गरेको हो । हाल संस्थापकको ‘लक इन पिरियड’ तीन वर्ष रहेको छ । यस अवधिमा संस्थापक नै विभिन्न बहानामा निर्माण चरणमा ठेक्कापट्टामा कमिसन, सुविधा लिएर तीन वर्षमै सेयर बिक्री गरेर बाहिरिने गरेका छन् । यस अवस्थालाई रोक्न बोर्डले बजारलाई प्रभाव नपर्ने गरी हाल कायम रहेको संस्थापकको ‘लक इन पिरियड’ बढाउने जनाएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले संस्थापक सेयरधनी नै कम्पनीको सेयर तीन वर्षमै बेचेर बाहिरिने गरेको हुँदा आमलगानीकर्ताको लगानी जोखिममा पर्ने गरेको बताउँछन् । उनले भने ‘हामी औद्योगिक क्षेत्रलाई पनि दोस्रो बजारमा ल्याउन प्रयास गरिरहेका छौँ, यो अवस्थामा लक इन पिरियड बढाउनुपर्ने देखिन्छ’ । औद्योगिक क्षेत्रमा निमार्ण अवधिमा नै ३–४ वर्षभन्दा बढी समय लाग्ने हुँदा यो अवस्थामा यदि संस्थापक सेयर धनी नै बाहिरिन्छ भने साना लगानीकर्ताको लगानी जोखिममा पर्न जान्छ । त्यसैले साना लगानीकर्ताको हितमा समेत रहेर संस्थापकको लक इन पिरियड बढाउन लागेको बताए ।

अन्तर्राष्ट्रिय अभ्यास र लगानीकर्ताको लगानीलाई सुरक्षित गर्ने उद्देश्यले सूचीकृत कम्पनीको संस्थापक सेयरधनीको लक इन पिरियड परिमार्जन गर्न लागिएको हो । समयाअवधि बढाएपछि संस्थापक सेयरधनीले अस्वभाविक सुविधा लिने कार्य कम हुने जनाएको छ ।
यसका साथै बोर्डले सोमबार धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र निष्कासनमा बुक बिल्डिङ प्रणाली लागू गर्ने, हकप्रद सेयर निष्कासनमा साबिक सेयरधनीलाई प्राथमिकतामा राख्ने, सेयर कारोबारपछिको कारोबार राफसाफ अवधि छोट्याउने, अभौतिक सेयरको बिमा गर्ने, क्रेडिट रेटिङ् शुल्क पुनरावलोकन गर्ने जनाएको छ ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले खाडी मुलुक तथा विश्वका विभिन्न देशमा बस्दै आएका करिब ५० लाख नेपालीलाई पुँजी बजारमा भित्र्याउन नियमक निकायले नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने हाल विदेशमा रहेका नेपालीले ७ खर्बभन्दा बढी रेमिटेन्सका माध्यमबाट नेपालमा पैसा पठाउने गरेका छन्, त्यति नै रकम उनीहरूको विदेशमै रहेको छ, यदि त्यो रकम हामीले नेपालको पँुजी बजारमा ल्याउन सके भने हाम्रो बजार विकासमा महत्वपूर्ण भूमिका रहने देखिन्छ ।

विदेशमा रहेका नेपालीका लागि एक वर्षको ‘लक इन पिरियड’ राखेर विदेशी मुद्रामै लगानी गरेर विदेशी मुद्रामै आफूले गरेको लगानी लिन सकिने व्यवस्था गरे पुजी बजार नयाँ उचाइमा पुग्ने हुँदा यो विषयसमेत समेट्न रौनियारले आग्रह गरेका छन् । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]