July 15th, 2019

बैंक मर्जरले बजार तात्दा सरकारी बैंकलाई हाईसन्चो

दिलु कार्की
बैंकिङ खबर । पछिल्लो समय बैंक मर्जरलाई लिएर वित्त बजार तातेको छ । बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृतहरु मर्जरका लागि साझेदार खोज्नमा तल्लिन छन् ।

तर यो बेला सरकारी बैंकहरु भने मर्जरको केही तयारी गरेका छैनन् । सरकार तथा नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुको मर्जर भनिरहदा सरकारी स्वामित्वका ३ वटा वाणिज्य बैंकहरु कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले भने मर्जरको लागि मौद्रिक नीतिको पर्खाइमा छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजानिक हुनु भन्दा अगाडि नै २८ वटै वाणिज्य बैंकहरुलाई मर्जरको लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिएको छ । सोही अनुसार २२ वटा वाणिज्य बैंकहरुले लिखित प्रतिवद्धता बुझाइसकेको राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्द नागिलाले बताए । प्राप्त प्रतिवद्धता सबै नीजि क्षेत्रका वाणिज्य बैंकहरुको हुन् । सरकार तथा राष्ट्र बैंकले सरकारी तथा नीजि क्षेत्रका सबै बैंकहरुको संख्या घटाउन मर्जरको नीति लिएको हुँदा सरकारी स्वामित्वका वाणिज्य बैंकले पनि मौद्रिक नीति भन्दा अगाडि लिखित प्रतिवद्धता बुझाउनु नै पर्ने सह–प्रवक्ता नागिलाको भनाई छ ।

मर्जरका लागि मौद्रिक नीति कुर्दै सरकारी बैंक

सरकारले मुलुकको अर्थतन्त्रको आकार अनुसार बैंकको संख्या बढी भएको भनेर ठुला बैंकको संख्या घटाउने नीति बजेटमा नै उल्लेख गरेको भएता पनि देखावटि नीति बनाएको जस्तो भएको छ । सरकारी स्वामित्वको वाणिज्य बैंक, कृषि विकास बैंकमा हाल सम्म मर्जरको लागि कुनै छलफल नभएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यले बताए । “बैंकको संचालक समिति सरकार हो, हाल सम्म सरकारको तर्फबाट मर्जरको लागि भनेर छलफल भएको छैन” उनले भने “ हाम्रो बैंक मर्ज हुने, नहुने नै टुङ्गो भएको छैन्, राष्ट्र बैंकले मौद्रिक नीति सार्वजानिक गरे पश्चात भने केही प्रकृया अगाडि बढ्छ ।”

कृषि विकास बैंक पुँजीको आधारमा पनि दरिलो बैंक भएको हुँदा मर्जर भन्दा पनि कृषिमा लगानी बढी भएको कुनै बैंकलाई एक्वार गर्ने उनले बताए । कृषि विकास बैंक आफैमा सबल र सक्षम भएको कारणले पनि अरु बैंकमा मर्जर नहुने भएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अषाढ १२ गते नै सबै बैंक तथा वित्तीय संस्थाका संचालक तथा प्रमुखहरुलाई बोलाएर मौद्रिक नीति भन्दा अगावै मर्जरको लिखित बुझाउन निर्देशन दिइसकेका छन् । मर्जरका लागि नीजि क्षेत्रको प्रायः वाणिज्य बैंकहरु तयारी अवस्थामा रहदा सरकारी स्वामित्व कै राष्ट्रिय वाणिज्य बैंकले भने यसका लागि छलफल गरिरहेको जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठका अनुसार केहि दिन अगाडि मात्र ३ वटै वाणिज्य बैंकका सिइओहरुले मर्जरका लागि छलफल गरेका थिए । छलफलबाट कुनै ठोस निश्कर्ष नआएको राष्ट्रिय वाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

“३ वटै सरकारी बैंक मर्जर हुने वा कुनै नीजि क्षेत्रमा बैंकलाई प्राप्ती गर्ने छलफल भइरहेको छ,” उनी भन्छन् “ हामी पुर्ण सरकारी स्वामित्वका बैंक भएको हुँदा सरकारको निर्णय मौद्रिक नीति पश्चात आउँछ, अनि बाँकी प्रकृया त्यस पछि अगाडि बढ्छ ।” मर्जर वा प्राप्ती पश्चात सरकारी बैंकहरुको सबै भन्दा धेरै जटिलता कमचारी समायोजन तथा शाखा मर्ज गर्नमा हुने भएकाले त्यसको पुर्व तयारी गर्नु पर्ने भएकाले पनि मर्जरको प्रतिवद्धता मौद्रिक नीति भन्दा अगाडि नआउने उनले बताए ।

हाल बैंकिङ क्षेत्रमा सरकारी बैंकहरुको १५ प्रतिशत हिस्सा रहेको छ । बैंकको संस्या घटाउने नीतिसंगै सरकारले सरकारी स्वामित्व बैंकिङ क्षेत्रबाट कति घटाउने निक्यौल भइसकेको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]