एनआईसी एशिया बैंकले सर्लाहीस्थित कबिलासी शाखाको विधिवत् उद्घाटन गरेको छ । विहीबार एक समारोहका बीच कबिलासी नगरपालिकाका मेयर किशोर यादवले उक्त शाखाको उद्घाटन गरे । बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप नयाँ शाखा कबिलासी नगरपालिका, वडा नं ८, सर्लाहीमा स्थापना गरेको हो ।
एनआईसी एशिया बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू १४१ अर्ब पुगि निजिक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११८ अर्ब सहित निजि क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।