June 1st, 2018

नेपालमा लगानी गर्नुहोस्, वातावरण सुरक्षित छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रमा उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरु तर्फ विश्वका लगानीकर्ताहरुको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहेका ढकालले नेपाली उद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रमसम्बन्धी कानुनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारहरुको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।

श्रमिकहरुको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पुर्याउने अपेक्षा नेपालका उद्यामीहरुले गरेको ढकालले बताए ।

नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थीरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको बृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक बृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको उनले बताए । यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीको प्रवद्र्धन र नयाँनयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सृजना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुर्याउने ढकालको धारणा छ ।

आर्थिक बृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्न बर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा उनले राखे । कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व बृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सृजनामा यसले सहयोग पुर्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको उनले बताए । यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा नेपालको गरेको उनले बताए । 

उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रम मन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजार भन्दा बढीको सहभागिता रहेको छ । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रयही मे २८ देखि जुन ८ सम्म उक्त सत्र सञ्चालन हुनेछ ।  

अध्यक्ष ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, पर्यटन, उर्जा, सूचना–प्रविधि, अटो मोबाइल जस्ता क्षेत्रमा लगानी गर्दै आईरहेको आइएमई ग्रुपका पनि अध्यक्ष हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]