बैंकिङ खबर । अरुण फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य प्रगति हासिल गर्दै ८७ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अरुण फाइनान्स तीन लाख ५६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
३० करोड रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोष १२ करोड ३६ लाख ७९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यो अवधिमा फाइनान्सले १० करोड ८१ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ११ लाख ४० हजार रुपैयाँ मात्रै कर्जा परिचालन गरेको थियो ।
दोस्रो त्रैमाससम्ममा अरुण फाइनान्सको खुद व्याज आम्दानी दुई करोड ७६ लाख नौ हजार रुपैयाँ पुगेको छ भने संचालन दुई करोड २७ लाख ७९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यो अवधिमा तीन करोड २३ लाख ७४ हजार रुपैयाँ खराब कर्जा उठाएको फाइनान्सले प्रोभिजनमा छ लाख २८ हजार रुपैयाँ मात्रै राखेको छ ।
अरुण फाइनान्सको निष्कृय कर्जा १४.९१ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ३६.२२ प्रतिशत रहेको छ । त्यस्तै, फाइनान्सको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ८१ पैसा, प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात २९.२६, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८७ रुपैयाँ ०९ पैसा र तरलता अनुपात १७७.३६ प्रतिशत रहेको छ ।