बैंकिङ खबर । जनता बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ६८ दशमलव ४२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जनताले १६ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंक्ले जगेडकोषमा २२१ प्रतिशतले वृद्धि गरी एक अर्ब छ करोड ६८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १०६.५४ प्रतिशत वृद्धि गरी ५२ अर्ब ८० करोड १३ लाख ७४ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १११.९० प्रतिशत बढाएर ४८ अर्ब ६९ करोड १७ लाख ८३ हजार रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १३८ दशमलव ५६ प्रतिशतले बढेर ९७ करोड २८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४२ दशमलव ०२ प्रतिशतले बढेर २२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १९ करोड दुई लाख २७ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४१ करोड २२ लाख ३७ हजार रुपैयाँ राखेको छ ।
पुस मसान्तमा जनता बैंकको निष्कृय कर्जा दुई दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १६ दशमलव ८७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ६ दशमलव ७९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १३ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ४७ प्रतिशत रहेको छ ।