बैंकिङ खबर । तीन जिल्ला कार्यक्षेत्र भएको तिनाउ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड ९९ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ८७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा तिनाउले पाँच करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको छ । निक्षेपमा १९ प्रतिशत वृद्धि गरी चार अर्ब ३३ करोड २४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १३ दशमलव ६५ प्रतिशतले वृद्धि गरी तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै घटेको छ । यो अवधिमा बैंकले आठ करोड तीन लाख रुपैया खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा पाँच करोड २० लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८७ पैसा, मुल्य आम्दानी अनुपात १५ दशमलव ४७, प्रतिसेयर कुल सम्पत्तीको मूल्य एक हजार पाँच रुपैयाँ १९ पैसा र तरलता अनुपात २७ दशमलव २६ प्रतिशत रहेको छ ।