बैंकिङ खबर । फेवा विकास बैंकलाई गाभेको गण्डकी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सेही अवधिको तुलनामा १२ दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गण्डकीले १८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल एक अर्ब ८४ करोड चुक्तापुँजी भएको बैंकले चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको चुक्तापुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुर्याउँदै छ । बैंकले जगेडाकोषमा १ अर्ब १३ करोड ८२ लाख रुपैयाँ राखेको छ ।
निक्षेपमा ५८.२६ प्रतिशतले वृद्धि गरी १९ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७४.९१ प्रतिशत वृद्धि गरी १७ अर्ब ५६ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३०.४४ प्रतिशतले बढेर ४५ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.९६ प्रतिशतले बढेर ३१ करोड १४ लाख दुई हजार रुपैयाँ पुगेको छ ।
खराब कर्जा ०.८८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १८.४८ प्रतिशत रहेको गण्डकी विकास बैंकले प्रोभिजनमा चार करोड आठ लाख चार हजार रुपैयाँ राखेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी वार्षिक २२ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १० दशमलव ४६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६१ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात २७ प्रतिशत रहेको छ ।