एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र युरानस टेक प्रा.लि. बिच ट्याबलेट बैंकिङ्ग कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार काठमाडौंमा एनएमबि माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र युरानस टेकको तर्फबाट प्रबन्ध संचालक निराजन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार, अब एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सक्षम परियोजना अन्तर्गत परियोजना संचालन भएका जिल्लाहरुमा ट्याब्लेट बैंकिङ्ग संचालन कार्य अगाडी वढाउनेछ ।
माइक्रोफाइनान्सले शुरुवातामा इलाम जिल्लाको दानावारी र राँके शाखा, मुस्ताङ जिल्लाको मुक्तिनाथ, म्याग्दीजिल्लाको घारा र दरबाङ, रुकुमजिल्लाको झुल्नेटा र खोलागाउँ शाखाहरुमा सक्षम परियोजनासँग सम्झौता गरी सो क्षेत्रका सदस्यहरुलाई वित्तीय पहुँच बृद्धि गर्नका लागि वित्तीय साक्षरता, सर्वसुलभ ढंगले वचत गर्ने तथा ऋण प्रदान गर्ने कार्यक्रम अगाडी बढाउँदै आएको छ ।
उक्त ट्याब्लेटको माध्यमबाट दैनिक केन्द्र बैठक संचालनगरी फिल्डबाटै डाटा इन्ट्री गरी सदस्यहरुले जम्मा गरेको वचत तथा किस्ता तुरुन्तै पोष्टिङ्ग गर्न सकिने भएकोले दैनिक कामकाज गर्नको लागि सहज हुने र हाल फिल्ड कर्मचारीहरुले गर्दै आएको काम छिटो छरितो भई एक तिहाई समयमै सबै कार्य सम्पन्न हुने भएकोले बाँकी समय अन्य उत्पादन मुलक कार्य गर्न सकिने कुरा प्रमुख कार्यकारी अधिकृत कोनाजोले बताए ।


