Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

के के भयो यो साता बैंकिङ क्षेत्रमा ? हेर्नुस साताभरका टप बैंकिङ खबरहरु

२०७४ भाद्र १७ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

० वटा बैंकलाई लाग्यो नाडा अटो शो
नेपालमा सवारी साधनको सर्वा्धिक ठुलो मेला ‘नाडा अटो शो’ गत मंगलवारदेख भृकुटीमण्डपमा भइरहेको छ । अटो शोमा प्रभु बैंक, एनआइसी एशिया बैंक, सिभिल बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक लगायतले स्टल राखेका छन् । नाडा अटो शोलाई नै लक्ष्ति गरेर एनएमबि बैंकले कर्जाको ५ वर्षसम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहने गरी नयाँ योजना ल्याएको छ । एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्षसम्मकोे अटोलोन लिन सक्नेछन् । त्यस्तै, एनआईसी एसिया बैंकले अन द स्पट फाइनान्सिङ (तुरुन्तै कर्जा स्विकृत) गर्ने व्यवस्था गरेको छ । बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधिसम्मको लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने छ । साथमा उक्त कर्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था समेत गरिएको बैंकले जनाएको छ । साथै नाडा अटो  शो २०१७ मार्फत सवारी साधन कर्जाको लागि आवेदन दिने ग्राहकहरुलाई यस बैंकले निःशुल्क रुपमा एक लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा समेत उपलब्ध गराउने भएको छ । यता, सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमा नै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो ।

पूर्वाधार विकास बैंक दर्ता
पूर्वाधार विकास बैंक स्थापना गर्नका लागि नेपाल राष्ट्र बैंकमा पहिलो निवेदन दर्ता भयो । बुधबार नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा.विमल कोइरालाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको समुपस्थितिमा प्रस्तावित बैंकको आवश्यक कागजातहरु हस्तान्तरण गरी विधिवत रुपमा बैंक स्थापना गर्नका लागि निवेदन दर्ता गरेका हुन् । प्रस्तावित बैंकको चुक्तापुँजी २० अर्व रहेको छ । बैंकमा नेपाल सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समुहमा ४० प्रतिशत सेयर रहेको छ । हाल संस्थापक समुहमा विभिन्न बैंक तथा बीमा कम्पनीहरु लगायत प्रतिष्ठित उद्योगी तथा व्यापारीहरुको संलग्नता रहेको छ । विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको बताइएको छ । प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना सञ्चालक रहने व्यवस्था मिलाईएको छ । प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंकको मूख्य उद्देश्य देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृतिलिई पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने तथा लिजिङ्ग कारोबार गर्ने रहेको छ ।

रिलायबललाई संचालन अनुमति
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट सञ्चालनको अन्तिम स्वीकृति पायो । व्यवसाय संचालनको लागि कार्यालय, जनशक्ति लगायत अन्य पूर्वाधारहरु तयार गरिसकेको कम्पनीले अब दशैँअगाडी नै व्यवसाय सुरु गर्ने जानकारी दिएको छ । कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहने कम्पनीको चुक्तापुँजी दुई अर्ब रुपैयाँ हुनेछ । जसमा संस्थापक र सर्वसाधारण सेयर स्वामित्व ७०ः३० रहने छ । रिलायबल लाइफ इन्स्योरेन्समा रिलायवल डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, कालु गुरुङ, सुरिद घिमिरे, गौरब अग्रवाल, डा. प्रकाशचन्द्र लोहनी, सुशिलकुमार पन्त, रमण श्रेष्ठ, उदय नेपाली श्रेष्ठ, केशववहादुर रायमाझी, गौरिराज जोशी, कैलाश सिरोहिया, हरिभक्त शर्मा, वीरबिक्रम रायमाझी, शम्भुप्रसाद गौतम, जनार्दनदेव पन्त लगायत २८० जना प्रमोटर छन् । कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ)मा नारायणबाबु लोहोनी रहेका छन् ।

विफल नोटबन्दी
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले भारत सरकारले पाँच सय र एक हजार दरको नोटमा लगाएको प्रतिबन्ध पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्यो । आतंकवाद र कालोधनविरुद्ध लड्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्वर २०१६ मा पाँच सय र एक हजार दरका नोटमा प्रतिवन्ध लगाउने घोषणा गरेका थिए । उक्त घोषणाले भारत लगायत छिमेकी मुलुकहरुमा समेत असर परेको थियो । उक्त घोषणाको एक वर्ष पनि पुग्न नपाउँदै आरबीआईले उक्त नोटबन्दी पूर्ण रुपमा विफल भएको तथ्य सार्वजनिक गरेको हो । आरबीआईका अनुसार प्रतिबन्धित पाँच सय र हजार दरका नोटमध्ये ९९ प्रतिशत नोट बैंकिङ प्रणालीमा फिर्ता भएका छन् । प्रतिवन्ध लगाइएका झन्डै १५ करोड ४४ लाख वटा नोटमध्ये १५ करोड २८ लाख नोट बैंकिङ प्रणालीमा फिर्ता भएको हो । भारत सरकारले कालोधन बैंकिङ प्रणालीमा फिर्ता नआउने र यसबाट कालोधन हुनेहरुको पर्दाफास हुने प्रक्षेपण गरेको थियो । तर, सबैजसो नोट बैंकिङ प्रणालीमा फिर्ता भएपछि सरकारको उक्त प्रक्षेपण गलत सावित भएको छ । सरकारको उक्त निर्णयले तीनै दरका नयाँ नोट छाप्न मात्रै झन्डै ८० अर्ब रुपैयाँ खर्च गराएको छ । तर, जुन उद्देश्यले नोटबन्दी गरिएको थियो, उक्त उद्देश्य भने पूरा हुन नसकेको देखिएको छ ।

अन्य

  • सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि मासिक तीन वटा निशुल्क एटिएम कारोबारको नयाँ कार्ड योजना सुरुवात गर्यो ।
  • लुम्बिनी बिकास बैंक लिमिटेडले शुक्रबार एकैदिन कास्की जिल्लाको पोखरा लेखनाथ म.न.पा., वडा नं. १६, लामाचौरमा, काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका, वडा नं. ६, नारायणटारमा तथा का.म.न.पा., वडा नं. ३४, कात्यायनीमा गरी ३ स्थानमा थप शाखा कार्यालयहरु स्थापना गरी कारोबार सुरु गर्यो ।
  • सिद्धार्थ बैंकले काठमाडौँको जोरपाटी र कुलेश्वरमा नयाँ शाखा विस्तार गर्यो ।
  • गण्डकी विकास बैंकले पोखराको चाउथे र वीरगञ्ज शाखाबाट कारोवार शुभारम्भ गरियो ।
  • मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पाँच लाख रुपैयाँ हस्तान्तरण गर्यो ।
  • कृषि विकास बैंकका शाखा प्रबन्धक सुरोज टन्डनद्वारा लिखित ‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ नामक पुस्तक सोमबार बैंकको प्रधान कार्यालयमा बिशेष कार्यक्रमको आयोजना गरी विमोचन गरियो ।
  • लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार सिन्धुलीको, १ नं बजार, कमलामाईमा आफ्नो नयाँ शाखा संचालनमा ल्यायो ।
  • सानिमा बैंक लिमिटेड र पाटन हस्पिटलबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भयो ।
  • मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको विरगञ्जस्थित आदर्शनगरमा विस्तार गर्यो ।