लुम्बिनी बिकास बैंक लिमिटेडले शुक्रबार एकैदिन तीन वटा शाखा विस्तार गरेको छ । बहुसंख्यक जनता (ग्राहक) माझ बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप बैंकले शुक्रबारदेखि कास्की जिल्लाको पोखरा लेखनाथ म.न.पा., वडा नं. १६, लामाचौरमा, काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका, वडा नं. ६, नारायणटारमा तथा का.म.न.पा., वडा नं. ३४, कात्यायनीमा गरी ३ स्थानमा थप शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको हो ।
उक्त शाखा कार्यालयहरुमध्ये कात्यायनी शाखा, काठमाडौँ र लामाचौर शाखा, पोखराको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले गरे भने नारायणटार शाखा कार्यालयको उद्घाटन संचालक अशोक राज पाण्डेले गरे । त्यस क्षेत्रमा रहेका जनतामा सरल, सहज बैकिङ्ग पहुँच पुर्याउने उद्देश्यले उक्त शाखाहरुलाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
लुम्बिनी विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ्ग लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । शुक्रबार विस्तारित तीन शाखासहित अब लुम्बिनी विकास बैंकको शाखा संख्या ५४ पुगेको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको बैंकको एटिएम संख्या १२ पुगेको छ ।