रोयल आचार्य- ‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ नामक पुस्तक विमोचन गरिएको छ । कृषि विकास बैंकका शाखा प्रबन्धक सुरोज टन्डनद्वारा लिखित ‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ नामक पुस्तक सोमबार बैंकको प्रधान कार्यालयमा बिशेष कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका अर्थराज्यमन्त्री उदय शमशेर राणाले पुस्तक विमोचन गरे । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थराज्यमन्त्री राणाले बैंकिङ क्षेत्रको बारेमा सम्पूर्ण जानकारी दिने पुस्तक लेखेकोमा लेखक टन्डनलाई धन्यवाद दिए । पुस्तकमा धेरै महत्वपूर्ण कुराहरु रहेको भन्दै पुस्तकले आफूलाई सार्वजनिक स्थलमा भाषण गर्नका लागि आवश्यक ज्ञान समेत दिने बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ अर्थविद् प्रा.डा. पुष्पराज बज्राचार्यले बैंकिङ सम्बन्धी मुलभूत कुराहरु पुस्तकमा समेटिएकाले सो पुस्तक उत्कृष्ट पुस्तक रहेको बताए । साथमा पुस्तकलाई सफलताको शुभकामना समेत दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले वित्तीय ज्ञान बढाउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने भन्दै बैंकिङ जानकारी लिन चाहने सबैलाई पुस्तक अध्ययन गर्न आग्रह गरे ।
पुस्तकबारे प्रकाश पार्दै लेखक सुरोज टन्डनले बजारमा सबै किसिमका पुस्तकहरु पाईने भए पनि बैंकिङ क्षेत्रबारे पुस्तक बजारमा नभेटिने भएकाले आफूले सोहि बिषयमा पुस्तक प्रकाशन गरेको बताए । कार्यक्रमका सभापति समेत रहेका नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समतिका अध्यक्ष सुरज महतले बैंकिङ क्षेत्रको सम्पूर्ण जानकारी दिने गरी पुस्तक प्रकाशन गरेकोमा लेखक टण्डनलाई धन्यवाद दिए ।
‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ पुस्तक उत्सव वुक्स एण्ड प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो । बैंक तथा वित्तीय संस्थाको अवस्था र अर्थव्यवस्थामा भूमिका, वित्तीय उपकरणः तरलता र ब्याजदर, आर्थिक प्रणालीमा रेमिट्यानसको बहुआयामिक प्रभाव, मौदिक नीतिको आवश्यकता र व्यवस्था, नेपालको अर्थतन्त्रमा चाडपर्व र पूँजी पलायन, नेपालमा लगानी र आर्थिक संकट लगायतका बिषय पुस्तकमा समेटिएको छ ।