रुपा कोइराला । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन २० खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा १८ दशमलव ४८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुमा १७ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तरलता अभावका कारण निक्षेप तान्नका लागि भन्दै बैंकहरु धमाधम व्याजदर बढाउन थालेपछि निक्षेप संकलनमा वृद्धि भएको हो । बैंकहरुले गत आर्थिक वर्षा निक्षेपको व्याजदर १३ प्रतिशतसम्म पुर्याएका थिए ।
निक्षेप बढाउनेमा जनता अगाडी
निक्षेप संकलन वृद्धि गर्नेमा जनता बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा एक सय एक दशमलव ८३ प्रतिशतले बढेर ४८ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा जनताको निक्षेप संकलन २४ अर्ब छ करोड रुपैयाँ रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकसँग सबैभन्दा बढी निक्षेप
निक्षेप बढाउनेमा २७ औँ स्थानमा रहेपनि राष्ट्रिय वाणिज्य बैंकसँग सबैभन्दा बढी निक्षेप रहेको छ । अघिल्लो आर्थिक वर्षमा एक खर्ब ४६ अर्ब २० करोड ७६ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्षमा ५.०४ प्रतिशतले वृद्धि गरी एक खर्ब ५३ अर्ब ५७ करोड ५९ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ ।
तीनसँग एक खर्बमाथि निक्षेप
राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य तीन बैंकको निक्षेप एक खर्ब नाघेको छ । जसमध्ये, नेपाल इन्भेष्टमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको एक खर्ब आठ अर्ब ६२ करोड ६६ लाख ४२ हजार रुपैयाँबाट १५.६९ प्रतिशत बढाएर एक खर्ब २५ अर्ब ६६ करोड ९३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, नविल बैंकको निक्षेप संकलन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.८३ अंकले बढेको छ । अघिल्लो आर्थिक वर्षसम्ममा एक खर्ब १० अर्ब २६ करोड ७२ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत असास मसान्तसम्ममा एक खर्ब १८ अर्ब ८९ करोड ६१ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यता, ग्लोबल आईएमई बैंकको निक्षेप संकलन पनि एक खर्बमाथि पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ७४ अर्ब ६८ करोड २९ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्षमा ३६.४६ प्रतिशतले बढोत्तरी गर्दै खर्बमाथि पुर्याएको हो । धेरै निक्षेप बढाउने वाणिज्य बैंकहरुमा पाचौँ बन्न सफल भएको ग्लोबल आईएमईले गत आर्थिक वर्षमा एक खर्ब एक अर्ब ९१ करोड चार लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अन्यको पनि राम्रो प्रगति
निक्षेप संकलनमा जनता, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट, नविल र ग्लोबल आईएमईबाहेक अन्य बैंकहरुले पनि राम्रो प्रगति गरेका छन् । एनसीसी बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ९३.६४ प्रतिशतले बढेर ५८ अर्ब ७९ करोड ५० लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा एनसीसीसँग ३० अर्ब ३६ करोड ३५ लाख ५५ हजार रुपैयाँ निक्षेप रहेको थियो । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा २८ अर्ब ९६ करोड ७९ लाख ४७ हजार रुपैयाँ निक्षेप संलकन गरेको सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा ४७.०४ प्रतिशत बढाएर ४२ अर्ब ५९ करोड ३६ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । ३७ अर्ब ९५ करोड पाँच लाख २५ हजार रुपैयाँबाट ३७.२१ प्रतिशतले बढेर कुमारी बैंकको निक्षेप ५२ अर्ब सात करोड १२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा ६५ अर्ब ८६ करोड ५२ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.२५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४८ अर्ब ३४ करोड २१ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । प्रभुले पनि निक्षेपमा ३३.४९ प्रतिशतले वृद्धि गरी ८१ अर्ब ३४ करोड ९५ लाख ४० हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रभुसँग ६० अर्ब ९४ करोड आठ लाख ६९ हजार रुपैयाँ निक्षेप रहेको थियो । अघिल्लो आर्थिक वर्षमा ३० अर्ब ७५ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको मेगा बैंकले गत आर्थिक वर्षमा २६.६२ प्रतिशत बढाएर ३८ अर्ब ९३ करोड ६८ लाख ६५ हजार रुपैयाँ पुर्याएको छ । सानिमा बैंकको निक्षेप ४६ अर्ब ४२ करोड ३३ लाख छ हजार रुपैयाँबाट २५.४३ प्रतिशतले बढेर ५८ अर्ब २२ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको निक्षेप ६५ अर्ब २१ करोड ३५ लाख २० हजार रुपैयाँबाट २५.२३ प्रतिशतले बढेर ८१ अर्ब ६६ करोड ४५ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने एनआईसी एसिया बैंकको निक्षेप ६९ अर्ब ४८ करोड ७९ लाख ९७ हजार रुपैयाँबाट २४.७७ प्रतिशतले बढेर ८६ अर्ब ६९ करोड ७१ लाख ४० हजार रुपैयाँ पुगेको छ । लक्ष्मी बैंकको निक्षेप४८ अर्ब १५ करोड ४१ लाख ९८ हजार रुपैयाँबाट २३.१९ प्रतिशतले बढेर ५९ अर्ब ३२ करोड चार लाख चार हजार रुपैयाँ पुग्दा सिद्धार्थ बैंकको निक्षेप ६४ अर्ब ९३ करोड ४३ लाख ५९ हजार रुपैयाँबाट १९.०७ प्रतिशतले बढेर ७७ अर्ब ३१ करोड ७५ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने सनराइज बैंकको निक्षेप ५१ अर्ब ६५ करोड दुई लाख ८० हजार रुपैयाँबाट १८.१३ प्रतिशतले बढेर ६१ अर्ब एक करोड ३२ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
यता, स्टान्डर्ड चार्टर्ड बैंकले ६३ अर्ब ८७ करोड २८ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ५५ अर्ब ७२ करोड ७१ लाख ७८ हजार रुपैयाँको तुलनामा १४.६२ प्रतिशतले बढी हो । कृषि विकास बैंकको निक्षेप झन्डै खर्ब पुगेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको ८७ अर्ब ३८ करोड ७१ लाख ७५ हजार रुपैयाँको तुलनामा १४.३८ प्रतिशतले वृद्धि गरी ९९ अर्ब ९५ करोड २० लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, माछापूछ्रे बैंकले अघिल्लो आर्थिक वर्षको ५२ अर्ब २९ करोड १८ लाख ७७ हजार रुपैयाँको तुलनामा १२.१२ प्रतिशतले वृद्धि गरी ५८ अर्ब ६२ करोड ९० लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने सिटिजन्स बैंकले अघिल्लो आर्थिक वर्षको ४७ अर्ब ३९ करोड ३५ लाख एक हजार रुपैयाँको तुलनामा १२.२४ प्रतिशतले वृद्धि गरी ५२ अर्ब ७१ करोड ८५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
एनएमबि बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको ६६ अर्ब ७८ करोड १४ लाख ६४ हजार रुपैयाँको तुलनामा ९.६५ प्रतिशतले बढेर ७३ अर्ब २२ करोड ४० लाख ६३ हजार रुपैयाँ पुगेको छ । नेपाल बंगलादेश बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको ३९ अर्ब ८७ करोड ४२ लाख ३४ हजार रुपैयाँको तुलनामा ९.६३ प्रतिशतले बढेर ४३ अर्ब ७१ करोड ३१ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ अर्ब ५६ करोड ४० लाख २४ हजार रुपैयाँ संकलन गरेको सिभिल बैंकको निक्षेप ८.०७ प्रतिशतले बढेर ३४ अर्ब ११ करोड सात लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
हिमालयन बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको ८७ अर्ब ३३ करोड ५७ लाख ८६ हजार रुपैयाँबाट ६.रु३५ प्रतिशतले बढेर ९२ अर्ब ८८ करोड ११ लाख १४ हजार रुपैयाँ पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा ६७ अर्ब ८३ करोड ६३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको बैंक अफ काठमाण्डूको निक्षेप ६.३४ प्रतिशतले बढेर ७२ अर्ब १३ करोड ६७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । नेपालकै जेठो बैंक नेपाल बैंकले ९३ अर्ब ९४ करोड ४० लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ८९ अर्ब ४१ करोड १९ हजार रुपैयाँको तुलनामा ५.०७ प्रतिशतले बढी हो । निक्षेप वृद्धिमा एभरेष्ट बैंक सबैभन्दा कमजोर देखिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.४५ प्रतिशतमात्र वृद्धि गरी ९५ अर्ब नौ करोड ४४ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ९३ अर्ब ७३ करोड ५४ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।




