सञ्चित बज्राचार्य प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् १९९६ मा सञ्चालनदेखि निर्जीवन बीमा कम्पनीको रूपमा स्थापना भएको प्रभु इन्स्योरेन्सका प्रमुख प्रवद्र्धकमा प्रभु समूह, नेपाल सरकार तथा कर्मचारी सञ्चय कोष रहेका छन् । आजदेखि प्रभु इन्स्योरेन्स २१ बर्ष पुरा गरी २२ औँ बर्षमा प्रवेश गर्दैछ । एक सफल र राम्रो निर्जीवन बीमा कम्पनी भनेर चिनिने यस कम्पनीले पूँजी वृद्धिको योजना तयार पारेर बीमा समितिमा बुझाएको छ । यसै सन्दर्भमा बैंकिङ खबरका रोयल आचार्यले प्रभु इन्स्योरेन्सका सीईओ बज्राचार्यसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
२२ बर्ष टेक्दै गर्दा प्रभु इन्स्योरेन्स को हालसम्मका प्रगतीको बारेमा थोरै बताईदिनोस न !
प्रभु इन्स्योरेन्सले दिनुपर्ने सेवा सुविधाहरु पर्याप्त मात्रामा दिएको छ । प्रत्येक बर्ष हामीले सेवा सुविधाहरु वृद्धि गर्दै लगेका छौँ । सोहि अनुसारको व्यापार व्यवसाय पनि वृद्धि गर्दै लगेका छौँ । समग्रमा हाम्रो प्रगति एकदमै राम्रो छ । गत बर्ष पनि राम्रै मूनाफा आर्जन गरेका छौँ भन्ने लाग्छ । अहिले लेखा परिक्षणको काम भइरहेकाले नाफा कति भयो भन्न सकिँदैन । हामीले गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाट २० प्रतिशत लाभांश दिने लक्ष्य राखेका छौं ।
पूँजी वृद्धिको योजना बीमा समितिमा पेश गर्नु भएछ, त्यसमा कस्ता–कस्ता योजनाहरु छन् ?
हामीले बीमा समितिमा पुँजीवृद्धिको योजना पेश गरेका छौं । योजनामा हामीले बोनस सेयर र हकप्रद सेयर जारी गरेर निर्धारित समयभित्रमा नै तोकिएको चुक्तापुँजी पुर्याउने उल्लेख गरेका छौँ । गत आर्थिक वर्षको कमाइबाट हामीले चालू आर्थिक बर्ष २०७४।७५ मा २० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनसपछि ४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएका छौँ । यसो गर्दा हाम्रो चुक्तापुँजी एक अर्ब ४८ लाख रुपैयाँ पुग्नेछ ।
पुँजीवृद्धिको योजनाअनुसार नै काम होला त ?
निश्चय नै हाम्रो योजना सफल हुनेछ । हामीले सफल हुने प्रकारका योजना नै समावेश गरेका छौं । अहिले हाम्रो लेखा परिक्षण भइरहेको छ । लेखा परिक्षण भइरहेको भएपनि हामीले २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न सक्छौ भनेर योजना पेश गरेका हौँ । हामीले बीमा समितिमा बुझाए अनुसारको योजनाहरु सफल हुनेछन् भन्ने पूर्ण विश्वास छ ।
प्रभु इन्स्योरेन्सले कस्ता–कस्ता वस्तुहरुको बीमा गर्छ ?
प्रभु इन्स्योरेन्स एउटा निर्जीवन बीमा कम्पनी हो । अहिले नेपालमा १७ वटा बीमा कम्पनीहरु छन्, ती सबैको प्रोडक्ट एउटै हुन्छ । यसमा कुनै भिन्नता हुँदैन । निर्जीबन बीमा कम्पनीहरुले धेरैजसो अग्नी बीमा, घरायसी बीमा, सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा, भ्रमण बीमा, उड्ययन बीमा लगायतका बीमाहरु गर्छन् । प्रभु इन्स्योरेन्सले गर्ने भनेको पनि यीनै बीमाहरु हुन् । अग्नी बीमा अन्तर्गत हामीले घरको आगलागी साथै भुकम्पको समेत बीमा गर्छौ ।
नेपालको समग्र बीमा क्षेत्रको पछिल्लो अवस्थाबारे बताइदिनोस न !
नेपालमा बीमा क्षेत्रको अवस्था दिन प्रतिदिन सुधारिँदै गएको छ । बीमाको पहुँचमा हिजोभन्दा आज वृद्धि भएको छ । तर, अहिलेको अवस्थामा बीमाको जति पहुँच वृद्धि हुनुपर्ने थियो त्यो भने भएको छैन । यसका लागि बीमा सम्बन्धी चेतनाको आवश्यक छ । नेपालमा बीमाको पहुँच वृद्धिका लागि राम्रोसँग चेतना जगाउन सके नेपालमा बीमाको भविष्य राम्रो छ । बीमा भनेको एकदमै जरुरी चिज हो । आजको दिनमा यो धेरैले नबुझेर बीमामा सबैको पहुँच पुग्न सकेको छैन । बीमाबारे हामीले पनि बुझाउन नसकेको हो भन्ने छ । आगामी दिनमा बीमाबारे चेतना फैलिन्छ । आज नभए पनि भोलिका दिनमा बीमामा सबैको पहुँच पुग्नेछ । यसका लागि बीमा शिक्षाको धेरै आवश्यक छ ।
नेपालमा प्रविधिको बीमा कत्तिको आवश्यक छ ?
बीमा सबै चिजको हुनु आवश्यक छ । एउटा गरिबीको रेखामुनि रहेको देशबाट नेपालको भखरै मात्रै विकास हुँदैछ । नेपालमा हामीले दुःख गरेर बनाएको घरको बीमा गर्नुपर्छ भन्ने चेतना त धेरैमा छैन भने प्रविधिको बीमा गर्ने विषयमा समय लाग्न सक्छ । यद्यपि, नेपालमा प्रविधिको बीमा एकदमै आवश्यक छ । चेतनाको कमीले यसबारे बुझ्न केहि समय लाग्छ ।