Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विधि र कानून किन मान्दैन विदेशी लगानीको बैंकले ?

admin २०७४ श्रावण ११ गते
सेयर:

बैंकिङ खबर संवाददाता / बैंक शाखा नपुगेका दुई सय ५० स्थानीय तहमा २७ वटा वाणिज्य बैंकहरुले शाखा खोल्ने भए पनि विदेशी लगानीमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकले भने कुनै पनि स्थानीय तहमा आफ्नो शाखा नखोल्ने भएको छ । बैंकर्स संघको सदस्य भए पनि स्टान्डर्ड चार्टर्ड बैंकले संघले गरेको निर्णय नमान्ने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय तथा बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशन समेत यस बैंकले नमान्ने देखिएको छ ।

ग्रामीण भेगमा शाखा सञ्जाल छैन
मुनाफामा मात्रै केन्द्रित हुने स्टान्डर्ड चार्टर्ड बैंकले नेपाली जनताका लागि सेवा सुविधा भने दिन कञ्जुस्याई गर्ने गरेको छ । यस बैंकले आफ्ना बढी शाखा कार्यालयहरु उपत्यकामा केन्द्रित गरेको छ । उपत्यकाबाहिर पनि मूख्य शहरहरुमा मात्रै यस बैैंकको शाखा कार्यालयहरु रहेका छन् । मूख्य शहरहरुमा मात्रै शाखा कार्यालय खोल्ने यस बैंकले जनतालाई सेवा दिने भन्दा पनि बढी मूनाफामा मात्रै केन्द्रित हुने गरेको छ । भर्खरै मात्र बैंक शाखा नपुगेका दुई सय ५० स्थानीय तहमा शाखा खोल्न २७ वटा वाणिज्य बैंकले सहमति गरिसकेका छन । स्थानीय तहमा यस बैंकले भने शाखा विस्तार नगर्ने भएको छ ।

कृषिमा लगानी गर्दैन
नाफाका आधारमा अगाडी देखिने बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकले कृषि क्षेत्रमा लगानी गर्न चाहाँदैन । अहिलेसम्मको तथ्यांक हेर्ने हो भने यस बैंकले केन्द्रीय बैंकले तोकेको कृषि क्षेत्रमा लगानी अत्यनतै न्युन गरेको छ । यस बैंकले सबैभन्दा बढी व्यापार क्षेत्रमा लगानी गर्ने गरेको छ । यस बैंकले सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको छ । नाफा कमाउन तिर बढी केन्द्रीत हुने यस बैंकले कृषि क्षेत्रमा ज्यादै न्युन मात्रै लगानी गरेको छ ।

चुक्तापुँजीमा कमजोर
यो बैंक चुक्ता पुँजीमा कमजोर छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये चुक्ता पुँजीको आधारमा यो बैंक २१ औँ स्थानमा देखिएको थियो । दोश्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्ने हो भने यस बैंकको चुक्ता पुँजी तीन अर्ब ७४ करोड ९९ लाख रुपैयाँ थियो । त्यसपछि बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर जारी गरेको छ । बैंकले १ सयको दरमा उठ्ने २५ करोड ५८ हजार चुक्ता पुँजीमा र बाँकी ३ अर्ब ४ करोड रुपैयाँ सञ्चितीमा राख्नुपर्ने हुन्छ । बैंकले बजारबाट ३ अर्ब ३० करोड उठाउन यो सेयर जारी गरेको उल्लेख गरेको छ । बैंकले प्रिमियम वापतको रकम पनि बोनस दिएर चुक्तापुँजी वृद्धिमा प्रयोग गर्ने देखिन्छ ।

सूचना लुकाउन नम्बर वान
स्टान्डर्ड चार्टर्ड बैंक सूचना लुकाउने बैंकमध्येको नम्बर वानमै पर्छ । बैंकहरुले आफ्नो सूचना जनता समक्ष पुर्याउनका लागि सूचना अधिकारी नै राखेका छन् । तर यो बैंकमा भने सूचना अधिकारी नै छैनन् । यो बैंकको बारेमा जानकारी लिनका लागि निकै गाह्रो पर्छ । बैंकले सञ्चार माध्यमहरुलाई सूचना दिन समेत कञ्जुस्याई गर्ने गरेको छ । यो बैंकबारे फोन गरेर जानकारी लिन खोजे बैंकका मार्केटिङ डिपार्ट प्रमुख दिवाकर पौडेल वा नविन रानालाई कल ट्रान्सफर गर्छ । तर, उनीहरुलाई प्रश्न सोधे सिधै थाहा छैन भन्ने उत्तर आउने गरेको छ । बैंकिङ खबरले स्थानीय तहमा स्टान्डर्ड चार्टर्ड बैंकको शाखा सञ्जाल विस्तारको योजनाबारे सोध्दा बैंकका कर्मचारीहरुले उत्तर दिन चाहेनन् ।

अनुत्पादक क्षेत्रमा बढी लगानी
उत्पादनमूलक क्षेत्रमा लगानीको हिसाबले पनि यो बैंकले नेपाल राष्ट्र बैंकको नियम पालना गरेको देखिँदैछ । हुन त, प्रायः बैंकहरुले यो नीतिको पालना गर्न सकेका छैनन् । बैंकहरु नाफामुखी भइदिँदा अनुत्पादक क्षेत्रमा लगानी गर्ने र छोटो समयमा धेरै नाफा कमाउने होडमा बैंकहरु देखिएका छन् । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नै एक अर्बभन्दा बढी नाफा कमाएको छ । सो अवधिसम्ममा बैंकले ६९ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी  ३७ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लगानीे गरेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड विदेशी लगानीमा स्थापना भएको बैंक हो । २०४४ सालमा स्थापना भएको स्टान्डर्ड चार्टर्ड बैंक नेपालमा स्टान्डर्ड चार्टड ग्रुपको ७५ प्रतिशत र नेपालीको २५ प्रतिशत लगानी छ । ग्रुपको लगानीमध्ये स्टाण्डर्ड चार्टर्ड अष्ट्रेलियाको ५० र स्टान्डर्ड चार्टर्ड बेलायतको २५ प्रतिशत लगानी छ । यो बैंकको पुँजीवृद्धि, उत्पादनमूलक क्षेत्रमा लगानी लगायतलाई हेर्दा नेपालको नियम कानुन तथा नीति नियमको पालना नै नगरेको भान हुन्छ । विश्वब्यापी मान्यता प्राप्त बैंक भए पनि सेयरधनीप्रतिको दायित्व निर्बाह र पारदर्शिता अबलम्बनमा समेत नेपालको स्टान्डर्ड चार्टर्ड निकै पछि परेको देखिन्छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।