सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९औँ शाखा हेटौंडामा विस्तार गरेको छ । मंगलबार (असार २० गते) नवनिर्मित शाखाको समुद्घाटन हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले गरेका हुन् । सो अवसरमा महतले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमा मात्र केन्द्रित नगरी ग्रामिण तथा सुदुर क्षेत्रका स्थानीय तहहरुमा विस्तार गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
कार्यक्रमका अतिथि उद्योग बाणिज्य संघ हेटौंडाका अध्यक्ष राजकुमार न्यौपानेले सिद्धार्थले हेटौंडामा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै ब्यापारिक कर्जाभन्दा पनि प्रोजेक्टमा आधारित कर्जामा लगानी बढाउन सुझाव दिए ।
कार्यक्रममा सिद्धार्थ डेभलपमेण्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले सो शाखामा जडान गरिएको एटिएम मेशिनको उद्घाटन गर्दै डेभलपमेण्ट बैंकको जनता बैंक नेपालसँग एक्विजिशन सम्बन्धी प्रकृया टुंगिन लागेको जानकारी दिँदै दुई सवल बैंकहरुको एकिकृत कारोबारबाट उच्चस्तरको बैकिङ्ग सेवा अभिबृद्विका लागि सहयोग पुग्ने बताए ।
त्यस्तै, सिद्धार्थ डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले स्वागत मन्तव्य राख्दै सिद्वार्थ डेभलपमेण्ट बैंक व्यावसायिक तथा सांगठनिक रुपमा सबल डेभलपेण्ट बैंक रहेको र जनता बैंक नेपालसँगको एकिकृत कारोवारले नेपालको बैकिङ्ग क्षेत्रमा एक सवल, सक्षम र उच्च व्यावसायिक बैंकको रुपमा गुणात्मक बृद्धि गरी वित्तीय पहुँच विस्तार गर्ने दृढता व्यक्त गरे ।
शाखा समुद्घाटन समारोहमा उद्योगी तथा समाजसेवी अरुण सुमार्गी लगायत हेटौंडाका उद्योगी व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रम बैंकका उप–महाप्रवन्धक ध्रुवकुमार पौडेलले सञ्चालन गरेका थिए । जनता बैंकसँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको सिद्वार्थ डेभलपमेण्ट बैंकको एक्विजिशन पश्चात जनता बैंक नेपालका नेपालभर रहेका ११३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने कुराको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।