एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय २० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईडीसीले नौ करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
४१ करोड ५८ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब २५ करोड रुपैयाँ राखेको छ । निक्षेपमा २० दशमलव १६ प्रतिशतले घटेर एक अर्ब २७ करोड १९ लाख रुपैयाँ संकलन भएको बैंकको कर्जा लगानी दुई अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी ४९ दशमलव ३० प्रतिशतले बढेर २१ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा एक सय ७८ प्रतिशतले बढेर १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा सात करोड ७३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा दुई करोड तीन लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक ६३ दशमलव ६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ आठ सय ८१ दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानी अनुपात दुई दशमलव ३६ गुणा र तरलता अनुपात तीन दशमलव २१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा सात दशमलव ४८ प्रतिशत रहेको छ भने पुँजीकोषको अनुपात ७१ दशमलव १४ प्रतिशत रहेको छ ।