चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडले दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले एक अर्ब ६४ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
सात अर्ब ४५ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ७६ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा जम्मा एक दशमलव २१ प्रतिशतले वृद्धि गरी ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २५ दशमलव ४२ प्रतिशत बढाएर ७४ अर्ब २० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा ४० दशमलव ११ प्रतिशतले बढेर चार अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ८० दशमलव १८ प्रतिशतले बढेर दुई अर्ब २० करोड छ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ३० करोड ४७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा ३५ करोड १६ लाख रुपैयाँ छुट्याएको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशतले घटेर दुई दशमलब ८५ प्रतिशत कायम भएको छ भने पुँजीकोषको अनुपात तीन दशमलव ९७ प्रतिशतले बढेर १३ दशमलब ५२ प्रतिशत पुगेको छ । चैत्र मसान्तसम्ममा नेपाल बैंंकको प्रतिसेयर आम्दानी ४४ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात नौ दशमलव २३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ११ प्रतिशत रहेको छ ।