ग्लोबल आइएमई बैंक लिमिटेडले डडेलधुरा जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं. २ मा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा सोमबारदेखि सो सेवा सुरु गरेको हो ।
गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानीय भवाना कुमारी अधिकारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुचारु गरेका हुन् ।
सबै क्षेत्र र वर्गका जनतामाझ आफ्नो बैंकिङ सेवा पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा पुर्याउँदै आइरहेको छ । ग्लोबल आइएमई बैंकले ९४ वटा शाखा, १०७ वटा एटिएम, ४५ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्˚त छ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।