नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन सय ७५ दशमलव ९४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल कम्युनिटीले ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
२२ करोड २ लाख ९४ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा ५६ दशमलव ४७ प्रतिशतले वृद्धि गरि एक अर्ब ७९ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा एक अर्ब ५९ करोड रुपैयाँ प्रवाह गरेको छ । बैंकको सञ्चालन मुनाफा छ सय ९८ दशमलव ५५ प्रतिशतले बढेर तीन करोड ३७ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ८२ दशमलव १८ प्रतिशतले बढेर सात करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा ३८ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा एक करोड ४४ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृर्य कर्जा शून्य दशमलव ९४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २० दशमलव २९ गुणा र तरलता अनुपात २५ दशमलव ६६ प्रतिशत रहेको छ ।