फेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ६६ दशमलव ४६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा फेवाले १६ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब १९ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ५५ करोड ७१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १४ दशमलव ७५ प्रतिशतले वृद्धि गरी १२ अर्ब २० करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १९ दशमलव ९९ प्रतिशत बढाएर ११ अर्ब २० करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ४५ प्रतिशत बढेर ५३ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६३ दशमलव ०७ प्रतिशतले बढेर ४२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा तीन करोड २२ लाख रुपैयाँ राखेको छ ।
बैंकको पुँजीकोष १७ दशमलव ७५ प्रतिशत, निष्कृय कर्जा एक दशमलव १४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३० दशमलव ३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४६ दशमलव ४३ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ६८ गुणा रहेको छ ।