हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
महुली लघुवित्तको आईपिओ खुला
महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपिओ) निष्काशन वैशाख ७ गतेदेखि सुरु भयो । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले प्रति कित्ता रू. १ सय अङ्कित दरमा १ लाख २० हजार बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन छिटोमा वैशाख ११ गते र ढिलोमा वैशाख २१ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ६ सय कित्ता सेयर लागि दरखास्त दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । आइपिओ निष्कासनमा कुमारी बैङ्क लिमिटेड रहेको छ । इच्छुक व्यक्तिहरुले सेयर रजिष्ट्रारका साथमा एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड कमलपोखरी, महुली सामुदायिक लघुवित्त संस्था सप्तरी, गाइघाट, भोजपुर, दिक्तेल, खनियाखर्क, सन्राइज बैङ्क लिमिटेड बौद्ध काठमाडौं, कालिमाटी, महाराजगंज, लगनखेल, सुकुल ढोका भक्तपुर, पोखरा कास्की, विराटनगर, मोरङ, बुटवल रुपन्देही, भरपुर, चितवन, विरगंज, पर्सा, बिर्तामोड, झापा, महेन्द्रनगर कञ्चनपुर, धनगढी, कैलाली, नेपालगञ्ज, बाँके, गाईघाट उदयपुर, लाहान, सिराह, राजविराज, सप्तरी, ईटहरी सुनसरी र आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि सो शेयरका लागि आवेदन दिन र बुझाउन सकिन्छ ।
राधी विद्युत् कम्पनीको आईपिओ खुला
राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित लमजुङ बासीका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्यो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको चार लाख १० हजार कित्ता साधारण सेयर सोमबार (वैशाख ४ गते)देखि निष्काशन गरेको हो । विक्री खुला गरिएको सेयरमध्ये अति प्रभावित साबिक घेर्मु गाबिस वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशतले हुन आउने दुई लाख ४६ हजार कित्ता र बाँकी न्युन प्रभावित क्षेत्र साबिक ताघ्रिङ्ग गाबिसका लागि एक लाख ६४ हजार कित्ता सेयर छुट्याइएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्ट लिमिटेड रहेको छ । उक्त सेयरमा छिटोमा वैशाख १९ गते तथा ढिलोमा जेठ २ गतेसम्म आवेदन गर्न पाइने छ । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि चार हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । नविल बैंक, ओम डेभलपमेन्ट बैंक र कैलाश विकास बैंकमा लमजुङ शाखा तथा लमजुङको घेर्मुस्थित राधी हाइड्रोको पावर स्टेशनबाट सेयरमा आवेदन दिन सकिनेछ ।
बढ्दो व्याजदरलाई सम्बोधन गर्न आग्रह
वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई सम्बोधन गर्न नेपाल उद्योग परिसंघ (सिएनआइ) ले अर्थमन्त्री कृष्णवहादुर महरासँग आग्रह गर्यो । २०७३ फागुनमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत केही नीतिगत सुधार गरे पनि वित्तीय प्रणालीमा कर्जाको अभावसँगै ब्याजदर समेत बढ्दै गएकाले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घट्ने सिएनआईको तर्क छ । यसले आयात बढ्ने, निर्यात घट्ने, कुलगार्हस्थ उत्पादनमा संकुचन आउने र रोजगारीका अवसरहरुमा ह्रास आउने हुँदा यथाशीघ्र त्यसलाई सम्बोधन गर्नुपर्ने सिएनआईको भनाई छ । सिएनआईले समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न, २०७३ असोजदेखि देखापरेको कर्जा अभाव र ब्याज दरको असन्तुलन कम गर्न तथा निक्षेपकर्तालाई यथोचित प्रतिफल उपलब्ध गराई दीगो आर्थिक विकासका लागि सुलभ दरमा कर्जा प्रवाहको वातावरण सृजना गर्न मन्त्री महरालाई सुझाव दिएको छ । अर्थमन्त्री महराले सरकारले आर्थिक सुधारका कार्यलाई उच्च प्राथमिकता दिएकोले क्रमशः नीतिगत निर्णय गरिने आश्वासन दिएका छन् ।
बैंकिङ मुभमेन्ट
- सरकारले राष्ट्र बैंकको संचालकमा प्रा. डा. श्रीराम पौडेल र रामजी रेग्मीलाई नियूक्त गर्यो ।
- कैलाश विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले संचालक नारायण प्रसाद पौडेललाई समितिको अध्यक्षपदमा र अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यो ।
पोखरामा नक्कली नोट
पोखरामा ५ सयका नक्कली नोट भेटिए । राष्ट्र बैंकले नै यो कुराको प्रमाणित गरिदिएको छ । रमष्ट्र बैंकले त्यस्ता नक्कली नोट भेटिएको भन्दै सतर्क रहन र सूचना गर्न समेत अनुरोध गरेको छ । राष्ट्र बैंक कार्यालयले नै यस्ता नोट बजारमा भेटिएको जनाएको छ । दुई फरक–फरक नम्बर रहेका नोटहरू भेटिएपछि यसको पृष्टि भएको हो । एउटै नम्बर २ वटा नोटमा भेटिएपछि नक्कली हो भन्ने प्रमाणित भएको बताइएको छ । कहाँबाट कसरी र कसले ल्यायो भन्नेबारे यकिन नभएको राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीले बताए ।
चार बैंकको हकप्रद खुला
नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले विहीबारदेखि हकप्रद सेयर निष्काशन गरे । नेपाल बैंकले १० बराबर दुई दशमलव ३७ को अनुपातमा, नेपाल बंगलादेश बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा र सिद्धार्थ डेभलपमेन्ट बैंकले १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेका हुन् । तीनै वटा बैंकको हकप्रद भर्ने म्याद जेठ १० गतेसम्म रहेको छ । त्यस्तै, यसै साताको आइतबारदेखि लक्ष्मी बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । उक्त हकप्रद जेठ ७ गतेसम्म खुला रहनेछ ।
अन्य
- सिटिजन्स बैंक इन्टरनेसनलले दशौं वार्षिकोत्सवको अवशरमा ’सिटिजन्स दशक बचत खाता’ शुभारम्भ गर्यो ।
- नुवाकोट जिल्लाको बट्टार बजारमा कर्पोरट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले बार्षिक केन्द्र प्रमुख गोष्ठीको अवसर पारेर २०७२ सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक हासिलगर्ने २२ जिल्लाका ३३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि प्रति विद्यार्थी १२ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गर्यो ।
- लक्ष्मी बैंक लिमिटेडले अधिकतम् ब्याजदर सहितको ‘अरेन्ज बचत खाता’ संचालनमा ल्यायो ।
- गोर्खाज फाइनान्सले काभ्रेको जनागल पुल बजारमा आफ्नो १० औं शाखा संचालनमा ल्यायो ।
- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गरेको ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो संकरणमा एनआईसी एसिया बैंक विजयी भयो ।
- एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ज्योति विकास बैंक लि. बर्दिबास, महोत्तरी शाखाले धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैंया सहयोग प्रदान गर्यो । ।
- एनआईसी एशिया बैंकले ‘समुन्नती बचत खाता’ नामक नयाँ बचत खाता संचालनमा ल्यायो ।




