
बैंकिङ खबर / सरकारले आन्तरिक स्रोतबाट १० अर्ब रुपैयाँ ऋण परिचालन गर्ने उद्देश्यले ६ वर्ष अवधिको विकास ऋणपत्र-२०८९ निष्कासन गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत निष्कासन हुन लागेको उक्त ऋणपत्रको ब्याजदर भने लगानीकर्ताले बोलकबोलमा प्रस्ताव गर्ने दरका आधारमा निर्धारण हुनेछ ।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र–२०८९ (NPDB06112089) को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनीले बोलकबोल प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । ऋणपत्रको निष्कासन मिति २०८३ मंसिर १० गते तोकिएको छ भने बोलकबोलका लागि मंसिर ९ गते समय निर्धारण गरिएको थियो ।
ऋणपत्र निष्कासनका लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई प्रकारको बोलकबोल व्यवस्था गरिएको छ । कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ ।
प्रतिस्पर्धी बोलदाताले आफूले खरिद गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ । उनीहरूले फरक-फरक ब्याजदरमा एकभन्दा बढी बोलसमेत पेस गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलदाताले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ । उनीहरूलाई प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने व्यवस्था छ ।
बोलकबोलबाट प्राप्त प्रस्तावित ब्याजदरलाई न्यूनदेखि उच्च क्रममा राखेर बाँडफाँट गरिनेछ । आवश्यक रकम पूरा हुने बिन्दुमा कायम हुने कट-अफ ब्याजदर नै ऋणपत्रको एकल ब्याजदर हुनेछ । सो दर तथा त्यसभन्दा कम ब्याजदर प्रस्ताव गर्ने स्वीकृत बोलदाताले समान ब्याजदरमा ऋणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । यसरी बजारमा उपलब्ध लगानीयोग्य रकम र लगानीकर्ताको ब्याजदर अपेक्षाका आधारमा सरकारले ऋणपत्रको ब्याजदर निर्धारण गर्नेछ ।
ऋणपत्र खरिदका लागि न्यूनतम पाँच लाख रुपैयाँ लगानी गर्नुपर्नेछ । त्यसपछि खरिद गर्न चाहेको रकम पाँच लाख रुपैयाँले निःशेष भाग जाने हुनुपर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत बराबर रकम अनेस्ट मनीका रूपमा जम्मा गर्नुपर्नेछ ।
छ वर्ष अवधि रहने यस ऋणपत्रको साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ । ऋणपत्रमा प्राप्त हुने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने ब्याज आम्दानीमा प्रचलित कानुनअनुसार आयकर लाग्नेछ ।
यस ऋणपत्रलाई धितोका रूपमा प्रयोग गरी कर्जा लिन तथा दिन सकिने व्यवस्था पनि गरिएको छ । साथै, ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको डीओएमएस प्रणालीमार्फत गर्न सकिनेछ ।
सरकारले विकास ऋणपत्रमार्फत आन्तरिक वित्तीय बजारबाट स्रोत परिचालन गरी सार्वजनिक खर्च तथा वित्तीय आवश्यकता व्यवस्थापन गर्दै आएको छ । यस्ता ऋणपत्रमा लगानीकर्ताले निश्चित अवधिका लागि सरकारलाई रकम उपलब्ध गराउँछन् र सरकारले तोकिएका सर्तअनुसार साँवा तथा ब्याज भुक्तानी गर्छ ।
यसपटकको ऋणपत्रमा ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुने भएकाले यसले सरकारी ऋणको लागतसँगै बजारको ब्याजदर अपेक्षा र लगानीयोग्य रकमको अवस्थासमेत संकेत गर्नेछ । बैंक तथा वित्तीय संस्था तथा अन्य लगानीकर्ताले पेस गर्ने ब्याजदर प्रस्तावका आधारमा सरकारले यस ऋणपत्रमा तिर्नुपर्ने ब्याजदर तय हुनेछ ।