Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

आधारदर ४.६९ प्रतिशतमा झर्‍यो, निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर

२०८३ मंसिर ९ गते

बैंकिङ खबर / बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै गए पनि निजी क्षेत्रमा कर्जा विस्तारको गति अपेक्षाकृत कमजोर देखिएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढ्ने र मौद्रिक विस्तार उच्च रहने क्रम जारी रहँदा पनि त्यसअनुसार कर्जा परिचालन हुन नसकेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले बैंकिङ प्रणालीमा उपलब्ध वित्तीय स्रोत र निजी क्षेत्रको कर्जा मागबीचको अन्तरलाई उजागर गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधारदर ४.६९ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो दर ५.५६ प्रतिशत थियो । एक वर्षमा वाणिज्य बैंकहरूको आधारदर ०.८७ प्रतिशत बिन्दुले घटेको हो । त्यस्तै, विकास बैंकहरूको औसत आधारदर ७.९२ प्रतिशतबाट घटेर ६.६५ प्रतिशत र वित्त कम्पनीहरूको ८.४८ प्रतिशतबाट घटेर ६.७४ प्रतिशत कायम भएको छ ।

आधारदर घटेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको ब्याजदरमा समेत गिरावट आएको छ । असोज मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ३.८५ प्रतिशत थियो । त्यस्तै, कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशतबाट घटेर ६.३१ प्रतिशतमा झरेको छ ।

ब्याजदर घट्दा ऋणीको कर्जा लागत कम हुने सम्भावना बढ्छ । तर आधारदर नै ग्राहकले तिर्नुपर्ने अन्तिम ब्याजदर होइन । बैंकहरूले आधारदरमा प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने भएकाले कर्जाको प्रकृति र ऋणीको जोखिमअनुसार वास्तविक ब्याजदर फरक पर्छ ।

तीन महिनामा निक्षेप २ खर्ब ३२ अर्ब थपिँदा कर्जा १ खर्ब ८४ अर्बले बढ्यो

बैंकिङ प्रणालीमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढे पनि रकम वृद्धिको तुलनामा निक्षेपको विस्तार बढी देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निक्षेप २.८ प्रतिशतले बढ्दा निजी क्षेत्रमा कर्जा प्रवाह ३.१ प्रतिशतले बढेको छ । यद्यपि वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत रहँदा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।

यसले कर्जा प्रवाह पूर्ण रूपमा रोकिएको नभई निक्षेपको वार्षिक वृद्धिको तुलनामा निजी क्षेत्रको कर्जा विस्तार पछाडि रहेको देखाउँछ । बैंकिङ प्रणालीमा उपलब्ध स्रोतलाई थप प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता पनि यसले औँल्याएको छ ।

अर्कोतर्फ, मौद्रिक विस्तार उच्च रहँदा पनि त्यसको प्रभाव वास्तविक अर्थतन्त्रमा कति पुगेको छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । बैंकमा निक्षेप बढ्नु र ब्याजदर घट्नु वित्तीय प्रणालीका सकारात्मक पक्ष हुन् । तर सस्तो कर्जा उपलब्ध हुँदैमा निजी क्षेत्रले नयाँ लगानी विस्तार गर्छ भन्ने सुनिश्चित हुँदैन ।

लगानीकर्ताको मनोबल, बजारको माग, व्यावसायिक वातावरण, परियोजनाको प्रतिफल र नीतिगत स्थिरताले पनि कर्जाको माग निर्धारण गर्छन् । विशेषगरी कृषि, उद्योग, ऊर्जा, पर्यटन तथा पूर्वाधार क्षेत्रमा नयाँ परियोजना अघि बढाउन लगानीमैत्री वातावरण आवश्यक हुन्छ । कर्जाको ब्याजदर घटे पनि लगानीको प्रतिफलप्रति अनिश्चितता कायम रहेमा निजी क्षेत्र नयाँ ऋण लिन उत्साहित नहुन सक्छ ।

बैंक तथा वित्तीय संस्थाका लागि पनि अहिलेको अवस्था उपलब्ध स्रोतको प्रभावकारी परिचालनसँग जोडिएको छ । निक्षेप बढ्दै जाँदा बैंकहरूले कर्जा विस्तारका अवसर खोज्नुपर्ने हुन्छ । तर कर्जा प्रवाह बढाउने क्रममा ऋणीको भुक्तानी क्षमता, परियोजनाको सम्भाव्यता र कर्जाको गुणस्तरमा समेत ध्यान दिन आवश्यक हुन्छ ।

यसर्थ, अहिलेको चुनौती बैंकिङ प्रणालीमा तरलता उपलब्ध गराउनु मात्र नभई त्यसलाई उत्पादन, रोजगारी र आर्थिक गतिविधि विस्तारसँग जोड्नु हो । आधारदरमा आएको गिरावटले कर्जा सस्तो हुने आधार तयार गरे पनि त्यसलाई वास्तविक लगानीमा रूपान्तरण गर्न निजी क्षेत्रको विश्वास र लगानीमैत्री वातावरण सुधार आवश्यक देखिएको छ ।

Ad