
बैंकिङ खबर / बैंक तथा वित्तीय संस्थामा निक्षेप र निजी क्षेत्रतर्फको कर्जा विस्तार बढिरहेका बेला कृषि क्षेत्रमा भने कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक प्रतिवेदनअनुसार असोज मसान्तसम्म कृषि क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले घटेको हो ।
राष्ट्र बैंकका अनुसार असार मसान्तमा कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ४ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ रहेकोमा असोज मसान्तमा घटेर ४ खर्ब ३ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । तीन महिनाको अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा १० अर्ब ६ करोड रुपैयाँले घटेको देखिन्छ ।
कृषि क्षेत्रमा कर्जा घटे पनि बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप भने बढेको छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । असार मसान्तको तुलनामा निक्षेप २.८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो । वार्षिक आधारमा निक्षेप वृद्धि १३.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह पनि बढेको छ । असोज मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । असार मसान्तको तुलनामा यस्तो कर्जा ३.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले मात्र बढेको थियो । वार्षिक आधारमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि ८.३ प्रतिशत रहेको छ ।
क्षेत्रगत रूपमा हेर्दा कृषि क्षेत्रबाहेक अधिकांश क्षेत्रमा कर्जा विस्तार भएको देखिन्छ । समीक्षा अवधिमा खानी क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले बढेको छ । यातायातका साधन उत्पादन तथा जडान क्षेत्रमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, मेसिनरी तथा विद्युतीय उपकरण क्षेत्रमा १०.७ प्रतिशतले कर्जा वृद्धि भएको छ ।
त्यस्तै, निर्माण क्षेत्रमा ३.८ प्रतिशत, सेवा क्षेत्रमा ३.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत र उत्पादनमूलक उद्योगमा २.३ प्रतिशतले कर्जा बढेको छ । तर कृषि क्षेत्रमा २.५ प्रतिशत र वित्त, बीमा तथा स्थिर सम्पत्तिसम्बन्धी क्षेत्रमा ०.७ प्रतिशतले कर्जा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकिङ प्रणालीमा निक्षेप वृद्धि र निजी क्षेत्रतर्फ कर्जा विस्तार सकारात्मक देखिए पनि सबै क्षेत्रमा समान रूपमा कर्जा प्रवाह हुन सकेको छैन । विशेषगरी कृषि क्षेत्रमा कर्जा घट्नुले कृषि व्यवसाय, उत्पादन तथा आधुनिकीकरणका लागि वित्तीय स्रोतको पहुँच र लगानी विस्तारको अवस्थाबारे प्रश्न उठाएको छ ।
कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र आर्थिक गतिविधिको महत्वपूर्ण आधार मानिन्छ । यस्तो क्षेत्रमा कर्जा प्रवाह घट्दा कृषि उद्यमी तथा व्यवसायीले आवश्यक वित्तीय स्रोत सहज रूपमा प्राप्त गरिरहेका छन् वा छैनन् भन्ने विषय पनि चासोको विषय बनेको छ । यद्यपि, कृषि क्षेत्रमा कर्जा घट्नुको कारण भने राष्ट्र बैंकको प्रतिवेदनमा खुलाइएको छैन ।