
बैंकिङ खबर / नेपालको बैंकिङ प्रणालीमा निक्षेप बढिरहेको छ। तर बैंकमा जम्मा भएको रकमअनुसार निजी क्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ६० खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप थपिएको छ। तर निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले मात्रै बढेको छ ।
अर्थात् तीन महिनामा निक्षेप थपिएको रकमभन्दा कर्जा विस्तार ४८ अर्ब ७० करोड रुपैयाँ कम देखिएको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ८.३ प्रतिशतले मात्रै बढेको छ। यसले निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार सुस्त रहेको देखाउँछ।
बैंकमा निक्षेप बढ्नु सकारात्मक भए पनि त्यसअनुसार कर्जा प्रवाह हुन नसक्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ। विशेषगरी उद्योग, व्यापार, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा उपलब्ध स्रोतको प्रभावकारी परिचालनबारे प्रश्न उठेको छ।
यद्यपि निक्षेप र कर्जाबीचको अन्तरलाई बैंकमा निष्क्रिय रहेको रकमका रूपमा बुझ्न मिल्दैन। बैंकहरूले तरलता व्यवस्थापन, अनिवार्य मौज्दात तथा सरकारी धितोपत्रलगायत अन्य क्षेत्रमा पनि रकम परिचालन गर्छन्।
बैंकमा पैसा थुप्रिँदै जाने तर निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाअनुसार हुन नसक्ने अवस्थाले एउटा गम्भीर प्रश्न उठाएको छ– बैंकमा पर्याप्त पैसा हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा लगानी किन बढ्न सकिरहेको छैन ?