Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

बराह सहकारीको ११ अर्ब अपचलन प्रकरणमा मुख्य व्यक्ति पक्राउ

२०८३ मंसिर २ गते
बैंकिङ खबर / सर्वसाधारण बचतकर्ताको करिब ११ अर्ब रुपैयाँ हिनामिना भएको आरोप लागेको बराह बचत तथा ऋण सहकारी संस्थाको प्रकरणमा लामो समयदेखि फरार रहेका मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी सार्वजनिक गरेका हुन् । उनले बराह सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा मुख्य योजनाकारलाई कानुनी कठघरामा ल्याउन सफल भएको बताएका छन् । विश्वकर्मामाथि सहकारीको ५ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीसहितका प्रतिवादीविरुद्ध सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरी अनुसन्धानअनुसार बराह सहकारीबाट कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना तथा अपचलन भएको अभियोगपत्रमा उल्लेख छ । यस प्रकरणमा सञ्चालक, पदाधिकारी तथा अन्य ऋणी गरी २६२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । तीमध्ये ३५ जनालाई मुख्य प्रतिवादीका रूपमा अभियोजन गरिएको थियो । अनुसन्धानमा सहकारीका बचतकर्ता तथा सेयर सदस्यबाट संकलित रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमा लगानी गरिएको देखिएको छ । बराह ज्वेलरीसहित समूहअन्तर्गतका करिब दुई दर्जन कम्पनीमा सहकारीको रकम परिचालन भएको अभियोगपत्रमा उल्लेख छ । यसरी सर्वसाधारणबाट संकलित बचत व्यावसायिक समूहका विभिन्न संरचनामा पुगेपछि सहकारीको वित्तीय अवस्था कमजोर हुँदै गएको अनुसन्धानको निष्कर्ष छ ।

सहकारीको वित्तीय अवस्थाले पनि रकम अपचलनको गम्भीरता देखाउँछ । अनुसन्धानका क्रममा सहकारीको कुल दायित्व १० अर्ब ८९ करोड ९५ लाख रुपैयाँभन्दा बढी रहेको देखिएको थियो । तर, बैंक खातामा भने जम्मा ७ लाख २७ हजार ७८० रुपैयाँ मात्रै मौज्दात भेटिएको थियो । सहकारीको कारोबार २०७९ जेठदेखि बन्द भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् ।

यस प्रकरणमा पीडितहरूले ४ हजार १६८ वटा जाहेरी दिएका थिए । उनीहरूले आफ्नो ५ अर्ब ८५ करोड ९८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराउन माग गरेका छन् । लामो समयदेखि बचत फिर्ताको प्रतीक्षामा रहेका पीडितहरूका लागि मुख्य आरोपितको पक्राउ अनुसन्धान अघि बढाउने महत्त्वपूर्ण घटनाका रूपमा देखिएको छ ।

बराह सहकारी प्रकरणमा रकम कहाँ र कसरी परिचालन भयो भन्ने विषयसँगै विभिन्न कम्पनीमा लगानी भएको सम्पत्तिको पहिचान र असुली पनि उत्तिकै महत्त्वपूर्ण छ । सहकारीको दायित्व पूरा गर्न सञ्चालक तथा सम्बन्धित व्यक्तिहरूबाट ठूलो रकम असुल गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

मुख्य आरोपित पक्राउ परेसँगै अब अनुसन्धानले नयाँ गति लिने अपेक्षा गरिएको छ । तर, पक्राउले मात्रै बचतकर्ताको रकम फिर्ता हुने सुनिश्चित गर्दैन । अपचलन भएको रकमको वास्तविक अवस्था पहिचान, सम्बन्धित सम्पत्तिको खोजी, कानुनी प्रक्रिया र पीडितको बचत फिर्ता गर्ने व्यवस्था नै यस प्रकरणको प्रमुख चुनौती रहनेछ ।

यस घटनाले सहकारीको रकम व्यावसायिक समूहका विभिन्न कम्पनीमा परिचालन हुँदा उत्पन्न हुन सक्ने वित्तीय जोखिम र कमजोर नियमनको परिणामलाई समेत उजागर गरेको छ । अबको मुख्य प्रश्न आरोपितमाथिको कानुनी कारबाहीसँगै सर्वसाधारणको वर्षौँदेखिको बचत कसरी फिर्ता हुन्छ भन्ने हो ।

Ad