
बैंकिङ खबर / नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० प्रतिशतभन्दा बढीले घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २० करोड ८५ लाख ४० हजार रुपैयाँ थियो ।
गत वर्षको तुलनामा नाफा ४ करोड २० लाख रुपैयाँभन्दा बढीले घट्नुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको कमी प्रमुख कारण देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३७ करोड ३० लाख ९४ हजार रुपैयाँ थियो ।
बैंकको कुल सञ्चालन आम्दानी पनि घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३८ करोड ५८ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ३६ करोड ४५ लाख रुपैयाँमा झरेको छ । यससँगै बैंकको सञ्चालन मुनाफा १९.५५ प्रतिशतले घटेर २४ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा २९ करोड ८४ लाख रुपैयाँ थियो ।
आम्दानीका प्रमुख सूचकमा आएको गिरावटको प्रभाव बैंकको प्रतिशेयर आम्दानीमा समेत परेको छ । बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ८६ पैसाबाट घटेर ३ रुपैयाँ ८ पैसामा झरेको छ । यसले बैंकले आर्जन गरेको नाफाको तुलनामा प्रत्येक सेयरबाट प्राप्त हुने आम्दानी कमजोर भएको देखाउँछ ।
यद्यपि, निफ्राको खुद शुल्क तथा कमिसन आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ५८.४५ प्रतिशतले बढेर करिब २ करोड २ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले यस शीर्षकबाट करिब १ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर शुल्क तथा कमिसन आम्दानी बढे पनि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावटको प्रभाव समग्र नाफामा देखिएको छ ।
नाफा घटेको अवधिमा बैंकको कर्जा तथा सापटी परिचालन भने बढेको छ । असोज मसान्तसम्म बैंकले ३४ अर्ब १७ करोड ४८ लाख रुपैयाँ कर्जा तथा सापटी परिचालन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २६ अर्ब १८ करोड ४४ लाख रुपैयाँ थियो । यसले बैंकको कर्जा परिचालन विस्तार भएको देखाए पनि त्यसको प्रभाव आम्दानी र नाफामा अपेक्षित रूपमा देखिन नसकेको वित्तीय विवरणले संकेत गर्छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । असोज मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा र मूल्य–आम्दानी अनुपात ७९.९५ गुणा रहेको छ ।
पहिलो त्रैमासको वित्तीय विवरणले निफ्राको कर्जा परिचालन विस्तार भइरहे पनि ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको कमीले नाफामा दबाब परेको देखाएको छ । आगामी त्रैमासमा बैंकले कर्जा विस्तारलाई आम्दानीमा रूपान्तरण गर्न र मुख्य सञ्चालन आम्दानी सुधार गर्न सक्ने नसक्ने विषयले यसको वित्तीय प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।