बैंकिङ खबर / देशभित्र रहेका आर्थिक सम्भावना, उद्यमशीलताका अवसर, युवा पुस्तामा निहित क्षमता तथा नयाँ प्रविधिले सिर्जना गरेका अवसरको खोजी र उजागर गर्ने उद्देश्यसहित मिडिया इन्टरनेसनलले ‘सम्भावना’ नामक कार्यक्रम शुभारम्भ गरेको छ। मिडिया इन्टरनेसनलको स्टुडियोमा आयोजित कार्यक्रमको समुद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भट्टले पुँजी बजारलाई गाउँगाउँसम्म विस्तार गर्दै आम नागरिकसँग जोड्ने सम्भावनाहरूको चर्चा गर्नुभयो। उहाँले पुँजी बजारलाई केवल सेयर कारोबारमा मात्र सीमित नराखी यसको व्यापक दायरा र महत्वबारे आम नागरिकलाई बुझाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। ‘सम्भावना’ कार्यक्रममार्फत देशको आर्थिक विकास, उद्यमशीलता, युवा प्रतिभा, नवीन प्रविधि तथा विभिन्न क्षेत्रमा रहेका अवसरहरूको पहिचान गर्दै तिनलाई आम नागरिकमाझ पुर्याउने लक्ष्य मिडिया इन्टरनेसनलले राखेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताउनु भयो । उहाँले आमनागरिकले पुँजी बजारलाई मुख्यतः सेयर किनबेचका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य, सम्भावना र आर्थिक विकासमा पुर्याउनसक्ने योगदानबारे व्यापक जनचेतना आवश्यक रहेको बताउनुभयो ।
“पुँजी बजारलाई सीमित क्षेत्रको कारोबारका रूपमा मात्र नभई देशको आर्थिक विकासका लागि आवश्यक पुँजी परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पुँजी बजारको पहुँच विस्तार गर्दै यसलाई देशको उत्पादन, उद्यमशीलता र ग्रामीण अर्थतन्त्रसँग जोड्नसके आर्थिक विकासका नयाँ अवसर सिर्जना गर्न सकिनेछ ।”
अध्यक्ष भट्टका अनुसार नेपालमा पुँजी बजारको चर्चा हुँदा प्रायः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने सेयर कारोबार, बजार परिसूचकमा आउने उतारचढाव तथा लगानीकर्ताले कमाउने वा गुमाउने रकमलाई प्राथमिकता दिने गरिएको छ । यद्यपि, पुँजी बजारको भूमिका सेयर कारोबारमा मात्र सीमित नरहेको उहाँको भनाइ छ । पुँजी बजारले लगानी गर्न चाहने व्यक्ति तथा संस्थाबाट पुँजी आवश्यकपर्ने क्षेत्रसम्म वित्तीय स्रोत परिचालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सेयरसँगै बन्ड तथा अन्य धितोपत्रमार्फत पुँजी जुटाउन सकिने भएकाले उद्योग, व्यवसाय तथा सरकारले आवश्यक वित्तीय स्रोत प्राप्त गर्न यसले सहयोग पुर्याउने उहाँको भनाइ छ ।
उहाँले उद्योगी-व्यवसायी तथा पुँजी आवश्यकपर्ने क्षेत्रलाई बैंकिङ प्रणालीमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्दै पुँजी बजारमार्फत प्रत्यक्ष रूपमा स्रोत जुटाउनसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पुँजी बजारको प्रभावकारी विस्तारले देशभित्रका उत्पादनमूलक क्षेत्र तथा उद्यमशील गतिविधिमा लगानी बढाउन सहयोग पुग्ने र त्यसबाट आर्थिक विकासका थप अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले देशभित्रै रहेका युवालाई आर्थिक अवसर तथा सम्भावना पहिचान गर्न सहयोग गर्ने उद्देश्यले ‘सम्भावना’ कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले देशभित्र विभिन्न क्षेत्रमा आर्थिक सम्भावना रहे पनि तिनको पहिचान, खोजी र प्रवद्र्धन पर्याप्त हुन नसकेको बताउनुभयो । युवाको क्षमता र सीपअनुसार अवसर खोज्न प्रेरित गर्नुका साथै देशभित्रै उद्यम, व्यवसाय र रोजगारीका सम्भावना उजागर गर्न कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ । कार्यक्रममा महिला उद्यमी शरीता भट्टराई, आइटी विज्ञ एवं उद्यमी हरीराम रिमाल, कृषि अर्थविज्ञ लक्ष्मण गुरुङ लगायतको उपस्थिति थियो ।