Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकले बाँड्यो १०.५३% लाभांश, उज्ज्वल सत्याल बने अध्यक्ष

२०८३ आश्विन २२ गते

बैंकिङ खबर / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा ४ प्रतिशत बोनस सेयरबापत १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको सेयर वितरण हुनेछ। यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशबापत करसहित २४ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबर रकम सेयरधनीलाई वितरण गरिनेछ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ।

नयाँ सञ्चालक समिति चयन

साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ। संस्थापक सेयरधनी समूहबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण सेयरधनी समूहबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्वाचित भएका छन्। साधारणसभापछि बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।

मर्जर तथा प्राप्तिको प्रस्ताव पनि पारित

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव समेत अनुमोदन गरेको छ। बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकका अनुसार संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गर्ने रणनीति रहेको छ।