
बैंकिङ खबर / पोखरा फाइनान्स लिमिटेडले २ लाख २३ हजार ५६८.११ कित्ता संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि बिक्रीमा ल्याएको छ ।
फाइनान्सका संस्थापक सेयरधनी मनबहादुर गुरुङले १ लाख ६६ हजार ५६.९४ कित्ता र नारायणबाबु लोहनीले ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका थिए। सोही आधारमा फाइनान्सले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
प्रचलित कानुनी व्यवस्था तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार फाइनान्सले यसअघि संस्थापक सेयरधनीलाई लक्षित गर्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि फाइनान्सले अब सर्वसाधारण व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको हो।
फाइनान्सका अनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिन चाहने इच्छुक व्यक्ति तथा संस्थाले पोखरा फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौं महानगरपालिका–२८ मा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् । तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाइने फाइनान्सले जनाएको छ ।