बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउँदैछ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सिरिज २०२५ अन्तर्गतको नयाँ नोट बिहीबारदेखि प्रचलनमा आउने भएको हो।
नयाँ नोटको मध्य भागमा चितवनस्थित सरकारी हात्तीसारमा रहेका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। यी दुवै हात्ती देवकली नामक हात्तीबाट जन्मिएका हुन्। नयाँ नोटको संकेत नम्बर ९२०००००१ देखि ५०९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ। यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको एक हजार रुपैयाँको सिरिज २०१९ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र प्रयोग गरिएको थियो।