बैंकिङ खबर / एभरेष्ट बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नै भवनबाट १३४औँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले असोज ५ गते नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा निर्माण गरेको नयाँ भवनको समेत उद्घाटन गरेको जनाएको छ । नयाँ भवनबाट बैंकको सुदूरपश्चिम प्रदेश प्रादेशिक कार्यालयसमेत सञ्चालनमा आउने भएको छ । यससँगै प्रादेशिक कार्यालयका सेवा पनि नयाँ भवनबाटै प्रदान गरिने बैंकले जनाएको छ ।
धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।
नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ । बैंकले प्रदेशका विभिन्न क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै बैंकिङ पहुँचलाई थप सहज बनाउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।
धनगढीको क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा आएपछि स्थानीय उद्योग, व्यवसाय तथा आर्थिक गतिविधिमा बैंकिङ सेवा थप सहज हुने बैंकको अपेक्षा छ । नयाँ शाखामार्फत स्थानीय ग्राहक, व्यवसायी तथा अन्य सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकले शाखा विस्तारसँगै आफ्ना ग्राहकलाई आधुनिक तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने रणनीतिअनुसार विभिन्न क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ । धनगढीमा नयाँ शाखा तथा प्रादेशिक कार्यालयका लागि आफ्नै भवन सञ्चालनमा आउनुलाई बैंकले सुदूरपश्चिममा आफ्नो उपस्थितिलाई थप व्यवस्थित बनाउने कदमका रूपमा लिएको छ ।