Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्रधानमन्त्री कार्यालयमा राहतको पैसा थुप्रियो, प्रभावितले कहिले पाउने ?

२०८३ आश्विन ५ गते

बैंकिङ खबर  /  रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बढ्दै गएको छ । कोषमा सहयोग रकम थपिने क्रम जारी रहँदा मौज्दात भने करिब १५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ । बाढी प्रभावितका लागि सरकारले सहयोगको आह्वान गरेपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था र निजी क्षेत्रबाट प्राप्त रकम कोषमा जम्मा हुँदै आएको हो ।

कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ । यसबाहेक हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।

अहिलेसम्म कति रकम परिचालन भयो ?

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि निकासा गरिसकेको छ । उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरिएको थियो ।

यसरी हेर्दा कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात रहे पनि हालसम्म प्रभावित क्षेत्रका लागि निकासा भएको रकम १ अर्ब रुपैयाँ छ । बाँकी रकम कोषमै मौज्दात रहेको देखिन्छ ।

भोटेकोशी बाढीबाट रसुवासहित प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि सरकारले सहयोग आह्वान गरेको थियो । त्यसपछि बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, विभिन्न संघसंस्था तथा सर्वसाधारणबाट सहयोग रकम जुट्दै आएको छ ।

रकम बढ्यो, परिचालनमा चासो

भदौ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार त्यसबेला कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात थियो । त्यतिबेला ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ तथा दुई बैंकका डलर खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर रहेको थियो ।

त्यसको तुलनामा पछिल्लो विवरणमा कोषको रुपैयाँ मौज्दात करिब २ अर्ब २५ करोड रुपैयाँले बढेको देखिन्छ । डलर मौज्दात पनि बढेको छ । यसले बाढी प्रभावितका लागि सहयोग रकम संकलन हुने क्रम अझै जारी रहेको देखाउँछ ।

अब कोषमा जम्मा भएको रकमलाई प्रभावितको आवश्यकता र प्राथमिकताका आधारमा कसरी परिचालन गरिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ । राहतसँगै प्रभावित परिवारको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने काममा रकम परिचालन गर्नुपर्ने आवश्यकता छ ।

कोषमा रकम जम्मा गर्ने प्रक्रिया र त्यसको मौज्दात सार्वजनिक भइरहे पनि कुन क्षेत्रमा कति रकम परिचालन भयो, कति निकासा भयो र आगामी चरणमा कति रकम कुन प्रयोजनमा खर्च गरिनेछ भन्ने विवरण पनि सार्वजनिक हुनु महत्वपूर्ण हुनेछ ।

बाढी प्रभावितका लागि ठूलो रकम संकलन भइरहेका बेला त्यसको पारदर्शी, आवश्यकता आधारित र प्रभावकारी परिचालनले सहयोगदाताको विश्वास कायम राख्नुका साथै वास्तविक प्रभावितसम्म राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।