Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

घर किन्न भृकुटीमण्डप पुगे ग्राहक, पहिलो प्रश्न–बैंकले कति ऋण दिन्छ ?

२०८३ आश्विन २ गते

बैंकिङ खबर  /  भृकुटीमण्डपमा जारी नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा घर तथा जग्गा खरिद गर्न चाहने ग्राहकको चासो बैंकको कर्जातर्फ पनि देखिएको छ । घर किन्नुअघि बैंकबाट कति ऋण पाइन्छ, ब्याजदर कति छ र कर्जा तिर्ने अवधि कति हुन्छ भन्ने विषयमा ग्राहकले जानकारी लिइरहेका छन् ।

असोज १ देखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा ५ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक र एक वित्त कम्पनी गरी ९ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन् । उनीहरूले घर तथा जग्गा खरिदका लागि विभिन्न होम लोन तथा प्रोपर्टी लोन योजना अघि सारेका छन् ।

मेलामा प्रभु बैंकले ५.४४ प्रतिशतबाट सुरु हुने होम लोन योजना ल्याएको छ । सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले प्रदर्शनी लक्षित ५.९९ प्रतिशत स्थिर ब्याजदरका होम लोन योजना ल्याएका छन् । लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशतको होम लोन योजना अघि सारेको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि कर्जा परामर्श तथा सहजीकरण गरिरहेको छ । बैंकले नियमित होम तथा प्रोपर्टी लोनसँगै वातावरणमैत्री घरका लागि ६.४९ प्रतिशत स्थिर ब्याजदरको ग्रीन होम लोन योजना पनि ल्याएको छ ।

बैंकबाट कति ऋण पाइन्छ ? भन्ने प्रश्नको उत्तर भने सबै ग्राहकका लागि एउटै हुँदैन । कर्जाको वास्तविक रकम घर वा सम्पत्तिको मूल्यांकन, ग्राहकको आम्दानी, ऋण तिर्न सक्ने क्षमता, क्रेडिट हिस्ट्री र बैंकको कर्जा नीतिअनुसार निर्धारण हुन्छ । पहिलोपटक घर खरिद गर्ने योग्य ग्राहकका लागि हालको व्यवस्थाअनुसार मूल्यांकन गरिएको सम्पत्तिको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्ने व्यवस्था रहेको छ ।

प्रदर्शनीमा १०० भन्दा बढी स्टल छन् । घर तथा अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्रीसँगै बैंक तथा वित्तीय संस्थाका सेवाबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

घर किन्न चाहने ग्राहकका लागि भने ब्याजदर मात्रै नभई कर्जाको अवधि, स्थिर ब्याजदर लागू हुने समय, त्यसपछि लाग्ने ब्याजदर, सेवा शुल्क, धितो मूल्यांकन शुल्क र पूर्वभुक्तानीसम्बन्धी शुल्क समेत तुलना गरेर मात्रै कर्जा छनोट गर्नु महत्वपूर्ण हुन्छ ।