Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाढी प्रभावितका लागि नेपाल एसबिआई बैंकको १ करोड ३१ लाख सहयोग

२०८३ भाद्र २५ गते

बैंकिङ खबर /  नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको जनाएको छ। बैंकका अनुसार सहयोग रकममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको योगदानसँगै बैंकका कर्मचारीहरूको स्वेच्छिक सहयोगसमेत समावेश गरिएको छ। सहयोग रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त योगदान गरेको जनाएको छ। विपद्का बेला प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनःस्थापनाका प्रयासलाई सघाउन निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बैंकको सहयोगले देखाएको छ।

नेपाल एसबिआई बैंकले सीएसआरमार्फत विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रमा सहयोग गर्दै आएको छ। बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुग्ने गरी गरिएको यस योगदानले विपद्को समयमा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व र सामुदायिक प्रतिबद्धतालाई थप बलियो बनाएको छ।