Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्त र विन नेपालको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

२०८३ भाद्र २२ गते

बैंकिङ खबर /  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। प्राप्तिपछि दुवै संस्था अब स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट सञ्चालनमा आएका छन्    ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमारराज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

चुक्ता पुँजी ९७ करोड ९९ लाख पुग्यो

प्राप्ति प्रक्रियाअघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ८९ करोड ५६ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, विन नेपालको चुक्ता पुँजी करिब ८ करोड ४३ लाख रुपैयाँ थियो।दुवै संस्थाको पुँजी जोडिएपछि एकीकृत स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यससँगै संस्था चुक्ता पुँजीका हिसाबले १ अर्ब रुपैयाँ नजिक पुगेको हो ।

शाखा र सदस्य संख्या पनि बढ्यो

एकीकृत कारोबारपछि दुवै संस्थाको शाखा सञ्जाल एउटै संरचनामा आएको छ। अब स्वरोजगार लघुवित्तको कुल शाखा संख्या ११२ पुगेको छ ।

संस्थाका अनुसार एकीकृत संस्थामा सक्रिय सदस्यको संख्या १ लाख ३२ हजारभन्दा बढी पुगेको छ। त्यस्तै, कर्मचारी संख्या करिब ६१९ रहेको छ।प्राप्तिपछि संस्थाको सेवा पहुँच थप विस्तार हुनुका साथै एउटै संस्थामार्फत ग्राहक तथा सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउने आधार तयार भएको छ ।

कर्जा लगानी ११ अर्ब ७१ करोड

एकीकृत संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल बचत करिब ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।लघुवित्त क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला दुई संस्थाबीचको प्राप्तिले स्वरोजगार लघुवित्तको पुँजीगत क्षमता, कारोबारको आकार र भौगोलिक पहुँच थप विस्तार गरेको छ ।

संस्थाले एकीकृत संरचनामार्फत ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा वित्तीय पहुँच बढाउने लक्ष्य लिएको जनाएको छ। प्राप्तिपछि शाखा सञ्जाल र स्रोतको प्रभावकारी व्यवस्थापन गर्दै सदस्यलाई थप सहज र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने संस्थाको योजना छ ।