काठमाडौं / एनएमबि बैंक लिमिटेडले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै उक्त सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो ।
बैंकका अनुसार संस्थापक सेयरधनीलाई प्राथमिकता दिने उद्देश्यले यसअघि गत असार ३० गते ३५ दिने सूचना जारी गरिएको थियो । उक्त अवधिमा संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेपछि बैंकले बाँकी सेयर सर्वसाधारण तथा इच्छुक व्यक्ति र कम्पनीका लागि बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदनका लागि आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
संस्थापक सेयर बिक्रीसम्बन्धी यसअघिको प्रक्रिया पूरा भएपछि बैंकले अब खुला रूपमा इच्छुक लगानीकर्ताबाट आवेदन माग गरेको जनाएको छ ।