बैंकिङ खबर / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंक तथा वित्तीय संस्थाहरूले करोडौँ रुपैयाँ सहयोग गरेका छन् । बाढीपछि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराएका हुन् ।
हालसम्म सार्वजनिक भएका विवरणअनुसार नविल बैंकले चौधरी ग्रुपसँगको साझेदारीमा १५ करोड रुपैयाँ सहयोग गरेको छ । साथै चौधरी ग्रुपले विस्थापीतलाई पुनस्थापना र पुनरनिर्माणमा समेत साथ दिने बताएको छ । ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ गरेको छ । बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।
त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ ।
प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । क्लिकमाण्डुको संकलित विवरणअनुसार बैंकको सहयोग रकम ३ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
सरकारी स्वामित्वका बैंकहरू पनि राहतमा अगाडि देखिएका छन् । कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले ३/३ करोड रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी कुमारी बैंकले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । कुमारी बैंकले नगद सहयोगबाहेक उद्धार तथा अनुगमनका लागि करिब ३९ लाख रुपैयाँ बराबरका पाँच वटा एआईयुक्त ड्रोन, तीन वटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंकसमेत उपलब्ध गराएको जनाएको छ । यसलाई समेत जोड्दा कुमारी बैंकको कुल सहयोग ३ करोड ३९ लाख रुपैयाँ बराबर पुगेको छ ।
हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो ।
यस्तै, सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम प्रदान गरेको जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले २ करोड ५० लाख रुपैयाँ, सानिमा बैंकले २ करोड २५ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेका छन् । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत २ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
एनआईसी एशियाको २ करोड २१ लाख रुपैयाँ सहयोगमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ समावेश छ ।
त्यसैगरी, माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । बैंकले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।
विकास बैंकतर्फ पनि उल्लेख्य सहयोग देखिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकममध्ये ५० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र २० लाख रुपैयाँ कर्मचारीका तर्फबाट योगदान गरिएको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीका तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो ।
कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ । यसमध्ये १० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र १५ लाख रुपैयाँ कर्मचारीको एक दिनको तलबबाट संकलन गरी सहयोग गरिएको हो ।
यसैगरी, आरएसडीसी लघुवित्तले ५ लाख रुपैयाँ सहयोग गरेको विवरण सार्वजनिक भएको छ ।
यसरी हेर्दा भोटेकोशी बाढीपछि बैंक तथा वित्तीय संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा पुनःस्थापनाका लागि ठूलो रकम परिचालन गरेका छन् । केही संस्थाले नगद रकमसँगै राहत सामग्री, उद्धार उपकरण तथा कर्मचारीको तलबसमेत योगदान गरेका छन् । बैंकिङ क्षेत्रको यो सहभागिताले विपद्को समयमा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्वको भूमिकालाई थप प्रस्ट पारेको छ ।यद्यपि, विभिन्न बैंकले सहयोग घोषणा गरेको समय र रकम हस्तान्तरण गरेको समय फरक रहेकाले सार्वजनिक स्रोतहरूमा केही रकममा अन्तरसमेत देखिन्छ । त्यसैले माथिको विवरण हालसम्म सार्वजनिक रूपमा पुष्टि भएका रकमका आधारमा तयार गरिएको हो ।