बैंकिङ खबर / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा बैंक खाता प्रयोग गरी रकम संकलन र ठगीका घटना सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ।राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै विपद्को समयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुअघि बैंक खाता तथा भुक्तानी माध्यमको आधिकारिकता यकिन गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायत विद्युतीय माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ रहेको अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। रकम प्रविष्ट गरेपछि कारोबार पूरा गर्नुअघि पुनः एकपटक विवरण जाँच गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खाता विवरण प्राप्त गर्दा नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयका आधिकारिक वेबसाइटमा प्रकाशित विवरण मात्रै प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
त्यस्तै, सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमार्फत फैलाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ। विपद्को समयमा राहत सहयोग संकलनको नाममा नक्कली क्यूआर तथा बैंक खाता प्रयोग गरी ठगी हुन सक्ने भएकाले रकम पठाउनुअघि प्राप्तकर्ता र खाता विवरण अनिवार्य रूपमा जाँच गर्न राष्ट्र बैंकले भनेको छ।
राहत रकम पठाउन सहयोग गर्ने बहानामा कसैले ओटीपी, पिन वा पासवर्ड मागेमा त्यस्ता संवेदनशील व्यक्तिगत तथा बैंकिङ विवरण उपलब्ध नगराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ। डिजिटल कारोबार गर्दा आधिकारिक एप्लिकेसन तथा भुक्तानी माध्यम मात्रै प्रयोग गर्न राष्ट्र बैंकको सुझाव छ।राहत रकम पठाउने क्रममा ठगीमा परेको आशंका भए तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नेपाल प्रहरीको साइबर ब्युरो वा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।