Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ७० लाख सहयोग

२०८३ भाद्र १५ गते

बैंकिङ खबर /  सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण सयौं नागरिकको ज्यान गएको, धेरै नागरिक सम्पर्कविहीन भएको तथा ठूलो भौतिक क्षति भएको अवस्थामा बैंकले प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २० लाख रुपैयाँ गरी कुल ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
उक्त रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। आम नागरिकको विश्वास र भरोसाका साथ बैंकले मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आगामी दिनमा सेवाको थप विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।