
बैंकिङ खबर / मुक्तिनाथ विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रसँगै बेत्रावती, त्रिशूली र देवीघाट आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीको प्रभाव रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न नदी तटीय क्षेत्रमा समेत परेको छ ।
बाढीका कारण स्थानीय नागरिकसँगै स्वदेशी तथा विदेशी नागरिकसमेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा प्रभावित समुदायलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा मुक्तिनाथ विकास बैंकले पनि आर्थिक सहयोग उपलब्ध गराएको हो ।
बैंकले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, प्रभावित नागरिकको पीडा र कठिन परिस्थितिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका प्रयासमा आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ । बैंकका अनुसार वित्तीय सेवा प्रदान गर्नुका साथै संकटका समयमा समुदायसँग जोडिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु संस्थाको महत्वपूर्ण दायित्व हो । सोही दायित्वअन्तर्गत बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गरिएको हो ।
मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि विपद् प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको हित, विपद् व्यवस्थापन तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।