बैंकिङ खबर / फोनपेले अनलाइन सपिङ प्लेटफर्म जिवीसँग सहकार्य गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा एकीकृत गरेको छ । योसँगै जिवीबाट अनलाइन खरिद गर्ने ग्राहकका लागि भुक्तानी प्रक्रिया थप सहज र छिटो हुने भएको छ ।
नयाँ सुविधामार्फत जिवीमा सामान खरिद गर्दा ग्राहकले भुक्तानीको समयमा ‘चेकआउट बाई फोनपे’ विकल्प छनोट गरी फोनपेसँग आबद्ध मोबाइल बैंकिङ एपबाटै कारोबार पूरा गर्न सक्नेछन् । यसले अनलाइन खरिदका क्रममा सामान छनोट गरेपछि भुक्तानी पूरा गर्नुपर्ने प्रक्रियालाई थप सरल बनाउने अपेक्षा गरिएको छ ।
सेवा विस्तारको अवसरमा फोनपे र जिवीले ग्राहकलाई लक्षित गर्दै विशेष क्यासब्याक अफरसमेत सार्वजनिक गरेका छन् । अफरअन्तर्गत ‘चेकआउट बाई फोनपे’ मार्फत भुक्तानी गर्दा ग्राहकले २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अधिकतम सीमा ५०० रुपैयाँ तोकिएको छ ।कम्पनीका अनुसार उक्त अफर अगस्ट १८ देखि अगस्ट ३१ सम्म लागू हुनेछ । अभियान अवधिभर एक ग्राहकले अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
जिवीसँगको सहकार्यलाई फोनपेले नेपालमा डिजिटल भुक्तानीको पहुँच र प्रयोग विस्तार गर्ने आफ्नो निरन्तर प्रयासको एक हिस्साका रूपमा लिएको छ । अनलाइन कारोबारमा भुक्तानी प्रक्रियालाई थप सहज बनाउन नयाँ प्रविधि तथा भुक्तानी समाधान विस्तार गर्ने रणनीतिअनुसार सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ ।फोनपेले पछिल्लो समय विभिन्न व्यापारी, वित्तीय संस्था तथा ई–कमर्स प्लेटफर्मलाई आफ्नो डिजिटल भुक्तानी प्रणालीमा जोड्दै आएको छ । ‘चेकआउट बाई फोनपे’ जस्ता सेवामार्फत अनलाइन कारोबारलाई सहज, सुरक्षित र छिटो बनाउँदै डिजिटल भुक्तानीको प्रयोग बढाउने कम्पनीको लक्ष्य छ ।
जिवीमा यो सेवा उपलब्ध भएसँगै ग्राहकले अनलाइन खरिदका क्रममा छुट्टै भुक्तानी प्रक्रिया झन्झट व्यहोर्नु नपर्ने तथा आबद्ध मोबाइल बैंकिङ एपबाटै कारोबार गर्न सक्नेछन् । फोनपेले आगामी दिनमा थप व्यापारिक तथा विद्युतीय वाणिज्यिक प्लेटफर्ममा सेवा विस्तार गर्दै डिजिटल भुक्तानीलाई थप व्यापक बनाउने जनाएको छ ।


