Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

३५० रुपैयाँको सामान किन्दा १० लाखको भाग्य, करदाता पुरस्कारमा देखियो यस्तो उछाल !

२०८३ भाद्र १ गते

काठमाडौं । कर तिर्ने र नियमसम्मत कारोबार गर्ने उपभोक्तालाई प्रोत्साहित गर्न सरकारले सुरु गरेको करदाता प्रोत्साहन पुरस्कार योजनामा छोटो समयमै उपभोक्ताको आकर्षण उल्लेख्य बढेको छ। साउनको पहिलो १५ दिनको तुलनामा दोस्रो पाक्षिकमा बिल अपलोड गर्ने उपभोक्ताको संख्या मात्रै होइन, योजनामा जोडिएको कारोबार पनि तीव्र गतिमा बढेको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत साउन १६ देखि ३१ गतेसम्मको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको हो। 

यसपटकको सबैभन्दा रोचक पक्ष भनेको ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नु हो। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरी बिल योजनामा सहभागी भएका उपभोक्ता बम्पर विजेता बनेका हुन्। पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने भएकाले उनले कर कटाएर ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

योजनाप्रति उपभोक्ताको आकर्षण कति तीव्र रूपमा बढेको छ भन्ने तथ्यांकले नै देखाउँछ। साउनको पहिलो १५ दिनमा नगद कारोबारका जम्मा ७ हजार ७७ वटा बिल मात्रै पुरस्कारका लागि अपलोड भएका थिए। तर दोस्रो पाक्षिक अर्थात् साउन १६ देखि ३१ गतेसम्म यस्तो बिलको संख्या बढेर ३ लाख ५७ हजार १४९ पुगेको छ। अर्थात्, पहिलो १५ दिनको तुलनामा दोस्रो पाक्षिकमा नगद कारोबारका बिल अपलोड गर्ने क्रम निकै तीव्र भएको छ। सुरुआती चरणमै पुरस्कार योजनाप्रति उपभोक्ताको चासो बढ्दै गएपछि सरकारले थालेको प्रोत्साहन कार्यक्रमले व्यवहारमै प्रभाव पार्न थालेको संकेत देखिएको छ।

क्यूआर कारोबारमा पनि उछाल

नगद कारोबारका बिल मात्रै होइन, क्यूआरमार्फत हुने कारोबारमा पनि पुरस्कार योजनाको प्रभाव देखिएको छ। क्यूआर कारोबारबाट स्वतः योजनामा सहभागी हुने उपभोक्ताको कारोबार संख्या अघिल्लो अवधिको २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। यसले डिजिटल भुक्तानीलाई समेत योजनाले अप्रत्यक्ष रूपमा प्रोत्साहित गरिरहेको देखाउँछ। उपभोक्ताले सामान खरिद गर्दा बिल लिने र डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढ्दै जाँदा कर प्रशासनले खोजेको औपचारिक कारोबारको दायरा पनि विस्तार हुन सक्छ। साउन १६ देखि ३१ गतेसम्मको दोस्रो पाक्षिकमा पुरस्कार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ।

यिनै कारोबारमध्येबाट १७ जना विजेता छनोट गरिएको छ। साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका लागि दैनिक एक जनाका दरले १७ जना विजेता बनेका हुन्। प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। २५ प्रतिशत कर कटाएपछि उनीहरूको हातमा १ लाख रुपैयाँ खुद पर्नेछ। त्यसपछि सबै विजेतामध्येबाट एक जनालाई बम्पर उपहारका रूपमा १० लाख रुपैयाँ दिइएको हो।