बैंकिङ खबर / नेपाल टेलिकमले आफ्ना मोबाइल तथा इन्टरनेट सेवाग्राहीलाई लक्षित गर्दै ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। साउन १२ गतेदेखि लागू भएको यो अफरअन्तर्गत कम्पनीले पोस्टपेड, प्रिपेड तथा कर्पोरेट ग्राहकका लागि नयाँ–नयाँ डाटा, भ्वाइस र एसएमएस प्याकेजहरू बजारमा ल्याएको छ। यससँगै यसअघि लोकप्रिय रहेका विभिन्न प्याकेजहरूलाई थप सुविधासहित निरन्तरता दिइएको छ। कम्पनीका अनुसार नयाँ अफरले ग्राहकलाई कम लागतमा बढी डाटा, अनलिमिटेड भ्वाइस सेवा तथा सहज डिजिटल सञ्चारको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
त्यसैगरी, नेपाल टेलिकमले आफ्नो लोकप्रिय सजिलो अनलिमिटेड पोस्टपेड प्याकलाई पनि थप आकर्षक बनाएको छ। ६९९ रुपैयाँको प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा तथा २०० वटा एसएमएस उपलब्ध हुनेछ। ७९९ रुपैयाँको प्याकमा दैनिक १० जीबीका दरले ३०० जीबी डाटा, ९९९ रुपैयाँको प्याकमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा, १,४९९ रुपैयाँको प्याकमा ५०० जीबी डाटा तथा १,९९९ रुपैयाँको एक्जिक्युटिभ प्याकमा अनलिमिटेड डाटा, अनलिमिटेड भ्वाइस र ५०० एसएमएस उपलब्ध गराइएको छ। विशेषगरी धेरै इन्टरनेट प्रयोग गर्ने ग्राहकका लागि यी प्याकेज निकै उपयोगी हुने कम्पनीले जनाएको छ। प्रिपेड सेवाग्राहीलाई पनि यसपटक नेपाल टेलिकमले विशेष प्राथमिकतामा राखेको छ। कम्पनीले ९९ रुपैयाँमा एक दिनका लागि ८ जीबी डाटा र १९९ रुपैयाँमा सात दिनका लागि २० जीबी डाटा उपलब्ध गराउने नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ। त्यस्तै, सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप प्रभावकारी बनाउँदै ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट कल, दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा तथा ३०० एसएमएस उपलब्ध हुने व्यवस्था गरिएको छ। १,४९९ रुपैयाँको प्याकमा मासिक ५०० जीबी डाटा, अनलिमिटेड भ्वाइस सेवा र ३५० एसएमएस समावेश गरिएको छ। यसैबीच, कम्पनीले नमस्ते क्रेडिट (सापटी) सेवामा समेत सुधार गरेको छ। साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ कायम गरिएको छ। यो रकम प्रयोग गरेर ग्राहकले ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस तथा एसएमएस प्याक तत्काल खरिद गर्न सक्नेछन्। प्रिपेड ग्राहकले मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ मोबाइल एपमार्फत यो सेवा प्रयोग गर्न सक्नेछन्।
नेपाल टेलिकमले मनसुन अफरअन्तर्गत यी प्याकेजहरूबाहेक विभिन्न बन्डल्ड प्याक, एड–अन प्याक, एसएमएस प्याक तथा एफटीटीएच (फाइबर इन्टरनेट) प्याकेजहरू पनि उपलब्ध गराएको जनाएको छ। ग्राहकहरूले *1415# डायल गरेर, ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर वा कम्पनीको वेबसाइटमार्फत सबै प्याकेजको विस्तृत जानकारी लिन र आवश्यक सेवा खरिद गर्न सक्नेछन्। डिजिटल सेवाप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै नेपाल टेलिकमले यो अफर सार्वजनिक गरेको जनाएको छ। विशेषगरी अनलाइन अध्ययन, दूरसञ्चार, डिजिटल कारोबार, सामाजिक सञ्जाल तथा भिडियो स्ट्रिमिङको बढ्दो प्रयोगलाई ध्यानमा राखेर तयार पारिएका यी प्याकेजले ग्राहकलाई सहज, भरपर्दो र किफायती सेवा उपलब्ध गराउने कम्पनीको अपेक्षा छ। नेपाल टेलिकमका अनुसार ‘मनसुन अफर २०८३’ केवल छुट वा प्याकेज विस्तारमा सीमित नभई डिजिटल पहुँच विस्तार, ग्राहक सन्तुष्टि अभिवृद्धि र आधुनिक सञ्चार सेवाको गुणस्तर सुधार गर्ने अभियानको हिस्सा पनि हो। प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा आफ्ना सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई उच्च मूल्यको सेवा कम लागतमा उपलब्ध गराउने रणनीतिअनुसार कम्पनीले आगामी दिनमा पनि यस्तै नवीन सेवा तथा अफरहरू सार्वजनिक गर्ने संकेत दिएको छ।

