Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकले थाल्यो नयाँ युगको तयारी, नयाँ प्रधान कार्यालयका लागि जग्गा खरिद

२०८३ असार ११ गते

बैंकिङ खबर / नेपाल बैंक लिमिटेडले काठमाडौंमा नयाँ कर्पोरेट कार्यालय निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा खरिद गरेको जनाएको छ। बैंकका अनुसार काठमाडौं महानगरपालिका–१० स्थित नयाँ बानेश्वर क्षेत्रमा रहेको करिब ३ रोपनी २ आना जग्गा खरिद गरिएको हो। बैंकले आफ्नो दीर्घकालीन आवश्यकता र सेवा विस्तारलाई ध्यानमा राख्दै नयाँ भवन निर्माणको योजना अघि बढाएको जनाएको छ। हाल बैंकको प्रधान कार्यालय काठमाडौंको धर्मपथमा सञ्चालन हुँदै आएको छ। समयसँगै बैंकको सेवा विस्तार, कर्मचारी संख्या वृद्धि र आधुनिक बैंकिङ प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै थप सुविधासम्पन्न कार्यालय भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० तिलक पौडेलले नयाँ भवन निर्माणले बैंकको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए। उनका अनुसार नयाँ कार्यालय भवन केवल प्रशासनिक केन्द्र मात्र नभई आधुनिक बैंकिङ सेवा, प्रविधि र ग्राहक सेवाको नयाँ आधार बन्नेछ।

बैंकले जग्गा खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक विधिबाट सम्पन्न गरेको जनाएको छ। नयाँ भवन निर्माण भएपछि बैंकका विभिन्न विभाग तथा सेवाहरूलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। नेपाल बैंक देशकै पहिलो बैंकका रूपमा लामो इतिहास बोकेको वित्तीय संस्था हो। पछिल्लो समय बैंकले डिजिटल बैंकिङ विस्तार, सेवा प्रवाह सुधार र संस्थागत संरचना सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएको छ।

नयाँ कर्पोरेट भवन निर्माणको योजना पनि बैंकको दीर्घकालीन रणनीतिक योजनाकै हिस्सा भएको बैंकले जनाएको छ। नयाँ भवन निर्माण सम्पन्न भएपछि बैंकको केन्द्रीय प्रशासनिक कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।