२०८३ बैशाख १३ गते

राष्ट्रिय बाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउस बीच NPS-NCS सम्बन्धि सम्झौता

बैंकिङ खबर / राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच NPS-NCS अन्तर्गत नेपाल पे कार्ड सम्बन्धि सम्झौता सम्पन्न भएको छ। राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा बिहिबार एक कार्यक्रम आयोजना गरी सम्झौता-पत्र आदानप्रदान गरियो। उक्त सम्झौता-पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ।

सम्झौता पश्चात् राष्ट्रिय बाणिज्य बैंक लिमिटेड नेपाल क्लियिरिङ हाउस लिमिटेडमार्फत उपलब्ध हुने NPS-National Card Switch (NPS-NCS) र Domestic Card Scheme (NEPALPAY Card) को प्रमुख सदस्य भएको छ। यस मार्फत राष्ट्रिय बाणिज्य बैंकका ग्राहकले निकट भविष्यमा नेपाल पे कार्ड सम्बन्धि सेवाहरु उपभोग गर्न पाउनेछन्।

सम्झौता-पत्र आदानप्रदान कार्यक्रममा नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड बिजनेस प्रमुख पबिन्द्र राजभण्डारी र कार्ड अप्रेशन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो भने राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप-कार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख गगन सिंह घिमिरे, विभागीय उपप्रमुख हेमन्त जिसी, प्रबन्धक राजेश कुमार मोक्तान, उपप्रबन्धक समिरा आचार्य लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१४ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३३२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई विभिन्न किसिमका कर्जा, निक्षेप सहित आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ।