२०८२ असार २४ गते

आफूले कमाएको रकमको केही हिस्सा अनिवार्य बचत गरौंः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आम नागरिकमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वित्तीय अनुशासन’ सम्बन्धी सार्वजनिक सन्देश प्रसारण गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले मंगलबार जारी गरेको सन्देशमा आम्दानी, खर्च, बजेट, बचत र ऋणको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

सन्देशमा भनिएको छ, “आफूले कमाएको रकमको केही हिस्सा अनिवार्य रूपमा बचत गर्नुपर्छ, जसले आपतकालीन अवस्थामा सहयोग गर्नुका साथै दीर्घकालीन लक्ष्य हासिल गर्न मार्ग प्रशस्त गर्छ।” अनावश्यक खर्चबाट बच्ने, मासिक बजेट बनाउने, आवश्यकता अनुसार मात्र ऋण लिने र लिएको ऋणको समयमै सदुपयोगसहित फिर्ता गर्ने बानी बसाल्न राष्ट्र बैंकले सुझाव दिएको छ।

राष्ट्र बैंकले वित्तीय अनुशासनको पालनाले आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने उल्लेख गर्दै भनिएको छ, “वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं।”