२०८२ असार ३ गते

घरजग्गा कारोबारमा गिरावट

बैंकिङ खबर/चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गा कारोबारमा उल्लेख्य गिरावट देखिएको छ। तर, सोही अवधिमा संकलन भएको राजस्व भने बढ्नुले नेपालको रियल स्टेट बजारमा मूल्यवृद्धिको स्पष्ट संकेत दिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार यो वर्षको जेठ महिनामा देशभर १ लाख ५६ हजार ७५२ पटक मात्र घरजग्गा कारोबार भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो। गत वर्ष यस्तै समयमा १ लाख ७५ हजार ६२० पटक कारोबार भएको थियो।

तर, कारोबार घट्दासमेत राजस्वमा ८ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएकोमा यो वर्ष ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। व्यवसायिक रुपमा हेर्दा, कारोबारको सङ्ख्या घटेर पनि राजस्वमा वृद्धि हुनु उच्च मूल्यको सम्पत्ति कारोबार भइरहेको संकेत हो। यो राजधानी काठमाडौंसहित अन्य सहरहरूमा जमिनको मूल्य अनियन्त्रित रूपमा बढिरहेको छ।

कित्ताकाटमा पनि गिरावट

घरजग्गा टुक्र्याउने अर्थात् कित्ताकाटको संख्या पनि यस वर्ष घटेको छ। गत वर्ष ७२ हजार ६७५ कित्तालाई विभाजन गरेर १ लाख ६५ हजार ४०० टुक्रामा रूपान्तरण गरिएकोमा यस वर्ष ६४ हजार ४६५ कित्ता मात्र टुक्र्याएर १ लाख ४५ हजार ९०८ टुक्रामा सीमित गरिएको छ। यो गिरावटले प्लटिङ तथा जमिन विकासमा मन्दी आएको देखिन्छ, जसले शहरी विस्तारको गतिमा समेत प्रभाव पारेको हुनसक्छ।

कारोबारमा भद्रपुर अग्रस्थानमा

मालपोत कार्यालयहरू मध्य झापाको भद्रपुर मालपोत कार्यालय सबैभन्दा अगाडि देखिएको छ, जहाँ ७ हजार १२७ पटक कारोबार भएको छ। त्यसपछि क्रमशः इनरुवा, बेलबारी, भक्तपुर, जनकपुर, लगनखेल, धनगढी, चितवन, बुटवल र राजविराजको स्थान छ। विशेषगरी पूर्वी तराई क्षेत्रका जिल्लाहरूमा अझै पनि कारोबार सक्रिय देखिएको छ। विगतका वर्षहरूमा लगातार देखिएको मूल्यवृद्धि र हालको कारोबार गिरावटले आम नागरिकको घरजग्गामा पहुँच घट्दै गएको स्पष्ट छ।