२०८२ बैशाख ३० गते

घरजग्गा धितो कर्जामा कडाइ

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो कर्जामा कडाइ गरेका छन् । धितोमा लिएको सम्पत्ति बिक्री नभएर गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेपछि बैंकहरूले धितो कर्जामा कडाइ थालेका हुन्। सबै बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा धितो सुरक्षणको प्राथमिकतामा घर जग्गालाई राख्छन्। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अर्थात् चालू वर्षको चैतसम्म बैंकबाट प्रवाहित कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत छ।

तर, गत वर्षको सोही अवधिमा भने बैंकहरूले घरजग्गा धितो सुरक्षणमा ६७.६ प्रतिशत कर्जा प्रवाह गरेका थिए। एक वर्षको अवधिमा बैंकको घरजग्गा धितो कर्जा २.४ प्रतिशत बिन्दुले घटेको छ। बैंकहरूको कर्जा सुरक्षणको प्राथमिकतामा रहेको घरजग्गा धितोको अंश बैंकहरूले मूल्यांकनमा कडाइ गरेका कारण प्रमुख रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

२०७८ सम्म उच्च रहेको घरजग्गा कारोबार २०७९ लागेसँगै घट्न थालेको थियो। २०७८ मा ८ हजारसम्म लिखत पास हुने गरेकोमा २०७९ मा मुस्किलले ३ हजार र चालू वर्षमा करिब ५ हजार नजिक लिखत पास भएको भुमि व्यस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ।

कारोबार उच्च भएको समय बैंकहरूले ९० प्रतिशतसम्म चलनचल्तीको र १० प्रतिशत सरकारी मूल्य राखेर औषत गरी आएको मूल्यांकनमा कर्जा दिएको थिए। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू वर्षको चैतसम्म बैंकबाट प्रवाहित कर्जामध्ये चालू सम्पत्ति सुरक्षणमा १४.६ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत छ। गत वर्षको सोही अवधिमा बैंकहरूले घरजग्गा धितो सुरक्षणमा ६७.६ प्रतिशत कर्जा प्रवाह गरेका थिए।